मकवानपुर । मकवानपुर प्रहरीले निर्दयी ढंगले २२ वटा गोरु ओसारपसार गरिरहेको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले हेटौँडा-१० स्थित सडकखण्डबाट ना.६ ख. ६५७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार नियमित चेकजाँचका क्रममा ट्रकमा २२ वटा गोरु राखेर ओसारपसार गरिरहेको अवस्थामा फेला परेको थियो। त्यसपछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले ट्रक चालक रौतहटको चन्द्रपुर-२ बस्ने अन्दाजी ३० वर्षीय विनय चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ। चौधरीले गोरुहरूलाई निर्दयी तरिकाले ओसारपसार गरेको प्रहरीको भनाइ छ।

नियन्त्रणमा लिइएका चालक र गोरुसहितको ट्रकलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाइएको छ। प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार चालक चौधरीलाई आवश्यक कारबाहीका लागि मकवानपुरस्थित पशु सेवा केन्द्र पठाइएको छ।

चेकजाँचका क्रममा फेला परेको गोरु ओसारपसारसम्बन्धी विषयमा पशु सेवा केन्द्रबाट आवश्यक प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।