मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै १४७ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
कैलाशको वडा नम्बर ३, टकुवामा आइतबार आयोजित ३, ४, ७, ९ र १० नम्बर वडा भेलामा कांग्रेस, एमाले, नेकपालगायत पार्टी तथा स्वतन्त्र रहेका व्यक्तीहरु रास्वपामा आबद्घ भएका हुन् ।

रास्वपा मकवानपुर जिल्ला सभापति सञ्जीव पाठकको प्रमुख आतिथ्यता एवम् पार्टीका बागमती प्रदेश सदस्य सुनिता राई र पार्टी मकवानपुर जिल्ला सचिव बिशभ अधिकारीको विशीष्ट आतिथ्यतामा वडा भेला भएको हो ।

भेलामा प्रमुख अतिथी सभापति पाठकले कैलाश गाउँपालिकामा रास्वपाको संगठन मजबुत भन्दै गएको बताए । उनले नागरिकको मनमा बस्ने एकमात्र पार्टी अब रास्वपा मात्रै भएको उल्लेख गर्दै संगठनलाई अझै बलियो बनाई राख्न स्थानीय पार्टीका अगुवा कार्यकर्तालाई आग्रह गरे ।

यस्तै, पार्टी जिल्ला सचिव अधिकारीले अब आउँने स्थानीय चुनावमा कैलाशमा रास्वपालाई जिताउने गरी लागिपर्न अघि बढ्नका लागि सुझाव दिए । उनले कैलाशमा नेपाल टेलिकमको नेटवर्कको समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै यसका लागि पार्टीका तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।