मकवानपुर । बिहानको हल्का कुहिरो हट्दै जाँदा मकवानपुरको इन्द्रसरोवर ताल वरिपरि मानिसहरुको चहलपहल देखिन्थ्यो । सामान्यतया पर्यटकको भीड रहने मार्खु क्षेत्र त्यो दिन भने हातमा झाडु, डोको र फोहोर संकलनका बोरा बोकेका सुरक्षाकर्मी, कर्मचारी र स्थानीयवासीले भरिएको थियो । उनीहरुले तालको किनार, सडक आसपास र पर्यटकीय क्षेत्रभर फैलिएको प्लास्टिक तथा अन्य फोहोर उठाए ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-१ अन्तर्गत पर्ने इन्द्रसरोवर ताल आसपास तथा मार्खु पर्यटकीय क्षेत्रमा शनिबार सरसफाइ गरिएको हो । विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय, स्थानीय संघसंस्था र समुदायको संयुक्त सहभागितामा अभियान सञ्चालन गरिएको हो ।
सरसफाई कार्यमा मत्स्य विकास केन्द्र का प्रमुख भिमदत्त भट्टसहितका कर्मचारी सहभागी थिए । नेपाली सेनातर्फ भैरव गण चनवनका सेनानी मिलनकुमार जोशी तथा सहसेनानी फत्त नारायण श्रेष्ठ को कमाण्डमा १५५ जनाको टोली परिचालन गरिएको थियो ।
त्यसैगरी श्री नंम्बर ३ राजदल गण क्युवेक ब्याट्री कुलेखानीका सहसेनानी अर्जुन परियारको नेतृत्वमा ३५ जना र शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस कुलेखानीका सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको कमाण्डमा ३५ जनाको टोली सरसफाइमा खटिएको थियो ।
स्थानीय तहका कर्मचारी, नेपाल विद्युत प्राधिकरण प्रथम जलविद्युत आयोजना मार्खु शाखा, पालुङ वितरण केन्द्र फ्युज शाखा, अस्थायी प्रहरी बिट मार्खु, स्वास्थ्य चौकीका कर्मचारी, इन्द्रसरोवर मत्स्य व्यवसायिक संघ तथा डुंगा संघका प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता थियो ।
पछिल्ला वर्षहरूमा मार्खु क्षेत्र आन्तरिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विस्तार हुँदै जाँदा ताल वरिपरि प्लास्टिकजन्य फोहोर, बोतल र खानेकुराका अवशेष बढ्दै गएका थिए । विशेषगरी बिदाको दिनमा हजारौं पर्यटक पुग्ने यस क्षेत्रमा स्वच्छता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको स्थानीयको अनुभव छ ।
मत्स्य विकास केन्द्रका प्रमुख भट्टले पर्यटन र वातावरण एकअर्कासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै ताल क्षेत्रलाई दीर्घकालसम्म जोगाइराख्न सामूहिक जिम्मेवारी आवश्यक रहेको बताए । ‘इन्द्रसरोवर केवल घुम्ने ठाउँ मात्रै होइन, यो स्थानीय अर्थतन्त्र, माछापालन र पर्यटनसँग जोडिएको महत्वपूर्ण सम्पत्ति पनि हो ।’ उनले भने, ‘यदि हामीले अहिले संरक्षणमा ध्यान दिएनौं भने भविष्यमा यसको असर पर्यटन र पर्यावरण दुवैमा देखिन्छ ।’
मत्स्य विकास केन्द्रका अनुसार संघीय सरकारको ‘सरसफाइ सप्ताह’ अभियान अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रमभन्दा बाहिर रहेर स्वस्फूर्त रूपमा कार्यक्रम सञ्चालन गरिएको हो ।
स्थानीय सहभागीहरू यस्ता अभियानले केवल फोहोर हटाउने काम मात्र नगरी समुदायमा जिम्मेवारीबोध पनि बढाउने बताउँछन् । ताल किनारमा व्यवसाय सञ्चालन गर्ने स्थानीयहरू अब नियमित सरसफाइमा सहभागी हुने तयारीमा छन् ।
आयोजक संस्थाहरूले आगामी दिनमा प्रत्येक शुक्रबार कार्यालय परिसर तथा इन्द्रसरोवर ताल आसपास नियमित सरसफाइ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेका छन् ।
प्राकृतिक सौन्दर्य, तालको शान्त वातावरण र जलविद्युत परियोजनाको पहिचान बोकेको मार्खु पछिल्ला वर्षहरूमा ‘आन्तरिक पर्यटनको नयाँ गन्तव्य’ का रूपमा चिनिन थालेको छ । तर पर्यटनको बढ्दो चापसँगै वातावरण संरक्षणको चुनौती पनि थपिएको छ । शनिबारको सामूहिक सरसफाइ अभियानले प्रकृति जोगाउन सरकारी निकाय, सुरक्षाकर्मी र स्थानीय समुदाय एकसाथ उभिन सक्छन् भन्ने सन्देश प्रवाह गरेको छ।
















