मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–३, लावतीकी निशा माया चेपाङ परिवारको सानो घर आगलागीले पूर्णरूपमा जलेर नष्ट भयो। वर्षौंको मेहनतले जोडेको आश्रय एकैछिनमा खरानी बनेपछि निशा, उनका श्रीमान रमेश कार्की र छोरा जोशेप कार्कीको परिवार खुला आकाशमुनि बस्न बाध्य भयो। आगलागीबाट करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको थियो।
विपत्तिले थिचिएको त्यो परिवारका लागि भविष्य अन्धकारमय देखिन्थ्यो। तर, त्यही अन्धकारको बीचमा मानवीय सहकार्यको उज्यालो झुल्कियो। श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले पीडित परिवारको पीडालाई आफ्नै ठानेर उनीहरूको जीवनमा फेरि आशाको घर निर्माण गरिदियो।
आगलागी भएको खबर पाउनासाथ पार्टीका प्रतिनिधिहरू राहत लिएर निशाको घर पुगे। प्रारम्भिक चरणमा १२ हजार रुपैयाँ बराबरको खाद्यान्न र कपडा सहयोग गरियो। त्यसपछि आर्थिक सहयोग संकलन र कार्यकर्ताहरूको श्रमदान सुरु भयो। लक्ष्य थियो—निशाको परिवारलाई फेरि सुरक्षित छानोमुनि फर्काउने।
एक महिनाको अथक प्रयासपछि शुक्रबार श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिङ्तान सहितको टोली हेटौँडाबाट राक्सिराङ पुग्यो। विशेष समारोहका बीच निशा माया चेपाङको परिवारलाई नयाँ घर हस्तान्तरण गरियो। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल को प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष युनेशको अध्यक्षतामा घरको चाबी हस्तान्तरण गरियो।
करिब १० धुर एलानी जग्गामध्ये साढे ३ धुर क्षेत्रफलमा एकतले दुईकोठे घर निर्माण गरिएको हो। जिल्ला अध्यक्ष युनेशका अनुसार घर निर्माणका लागि प्रारम्भिक अनुमान ८ लाख रुपैयाँ गरिएको थियो। तर, पार्टी कार्यकर्ताको श्रमदान र विभिन्न व्यक्ति तथा संस्थाको सहयोगका कारण २ लाख ५ हजार १ सय ६६ रुपैयाँमै निर्माण सम्पन्न भयो।
यो घर केवल आर्थिक सहयोगले मात्र बनेको होइन, यसमा धेरै हातहरूको माया मिसिएको छ। सुब्बा फर्निचर उद्योग र भट्ट मोबाइल पसल ले पाँच–पाँच बोरा सिमेन्ट सहयोग गरे भने गोपी ग्लास एण्ड फर्निचर ले तीन बोरा सिमेन्ट उपलब्ध गरायो। बाबुलाल स्याङ्तान ले एक टिप ग्राभेल र एक टिप बालुवाको ढुवानी सहयोग गरे भने मनहरी ग्रिल उद्योग ले ढोका निर्माणमा २ हजार रुपैयाँ छुट दिएको थियो।
घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल ले श्रम संस्कृति पार्टीले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। आगलागीबाट घर गुमाएको परिवारलाई एक महिनामै श्रमदानमार्फत नयाँ घर निर्माण गरिदिनु प्रशंसनीय काम भएको उनको भनाइ थियो।
उनले नयाँ घर बने पनि व्यवस्थित शौचालयको अभाव रहेको उल्लेख गर्दै गाउँपालिकाबाट प्यान, टायल लगायत सामग्री उपलब्ध गराई शौचालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, नागरिकता अभावका कारण निशा सरकारी सेवा–सुविधाबाट बञ्चित रहेको उल्लेख गर्दै वडाको सिफारिसमार्फत नागरिकता बनाउन पहल गर्ने आश्वासन पनि दिए। अहिलेको समयमा नागरिकता र राष्ट्रिय परिचयपत्रबिना सरकारी सेवा लिन कठिन हुने भएकाले यसतर्फ तत्काल ध्यान दिने उनले बताए।
श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मोक्तानले पार्टी जिल्ला कमिटीको नेतृत्वमा श्रमदान र आर्थिक सहयोग जुटाएर आगलागीपीडित परिवारलाई एक महिनामै नयाँ घर हस्तान्तरण गर्न सफल भएको बताइन्। उनका अनुसार घर निर्माणका लागि विभिन्न व्यक्तित्वले आर्थिक सहयोग गरेका थिए भने गाउँपालिकाले जस्ता उपलब्ध गराएको थियो।
मोक्तानले दुःखमा परेका जनताको आवाजलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, श्रमदानमार्फत पीडितका लागि घर निर्माणजस्ता काममा पार्टी पछि नपर्ने बताइन्। चुनाव जितेपछि आफूहरू जनताकै साझा प्रतिनिधि भएको भन्दै उनले पीडितको साथमा उभिने वाचा गरिन्।
घर हस्तान्तरण कार्यक्रममा राक्सिराङ–३ का वडाध्यक्ष उत्तम लामा, श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामा, युवा नेता निश्चल थिङ, पूर्व वडाध्यक्ष बाबुलाल थिङ लगायतको उपस्थिति रहेको थियो।



















