मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ५७ मत परेको हो । सत्ता साझेदार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार मुख्यमन्त्री थापामगरको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको छ । विपक्ष र तटस्थमा भने कुनै मत परेन । हाल कायम १०४ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ र हाम्रो नेपाली पार्टी (हानेपा)का २ सांसद मतदानमा अनुपस्थित रहे ।
मुख्यमन्त्री थापामगरलाई प्राप्त ५७ मतमध्ये नेकपा एमालेका २४, नेपाली कम्युनिस्ट पार्टीका २६ र राप्रपाका ७ सांसदको हो । तर राप्रपाभित्र सरकार निर्माणमा समर्थन र सहभागिताका विषयमा विवाद देखिएपछि पार्टीका १२ सांसदमध्ये ७ जनाले मात्र विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । राप्रपाका ५ सांसद बैठकमा अनुपस्थित रहे ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आफ्ना सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए । एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाको समर्थनमा थापामगर ४ भदौमा प्रदेशसभाका ६३ सांसदको समर्थनसहित मुख्यमन्त्री नियुक्त भएका थिए ।
बागमती प्रदेशसभा सचिवालयका कानुन उपसचिव तथा प्रवक्ता प्रकाश चापागाईँका अनुसार थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् ।
विश्वासको मत लिनुअघि प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले प्रदेशवासीका मुद्घालाई सरकारको प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए ।
प्रदेशसभाबाट बजेट पारित भइसकेकाले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने र सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै सार्वजनिक गर्ने उनले बताए ।
प्रदेश सरकारलाई प्रशासन सञ्चालन गर्ने संरचनामा सीमित नराखी जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्ने उनको भनाइ थियो । स्वास्थ्य, शिक्षा, कृषि, वन, पर्यटन, रोजगारी र सहज सार्वजनिक सेवालाई प्राथमिकतामा राखिने उनले बताए ।
गरिब नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शिक्षाको गुणस्तर सुधार्ने र प्रविधिको प्रयोग बढाउने उनले प्रतिबद्धता व्यक्त गरे । शिक्षकको क्षमता विकास र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार गर्ने योजना पनि उनले सुनाए ।
किसानलाई अनुदानमा मात्र निर्भर नराखी उत्पादनदेखि बजारसम्म जोड्ने नीति लिइने उनले बताए । युवाको विदेश पलायन रोक्न प्रदेशमै उद्योग, पर्यटन, सूचना प्रविधि, कृषि, साना उद्यम र खेलकुदमार्फत रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको उनको छ ।
विकास आयोजनामा हुने ढिलाइ अन्त्य गर्न आवश्यकताका आधारमा योजना छनोट, समयमै ठेक्का प्रक्रिया, गुणस्तरीय निर्माण र आयोजना समयमै सम्पन्न गर्ने प्रणाली विकास गरिने उनले बताए ।
बागमतीमा संघीय राजधानीसहित ठूलो जनसंख्या, आर्थिक गतिविधि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सम्भावना भए पनि दुर्गम भूगोल, ग्रामीण क्षेत्र, विपन्न तथा सीमान्तकृत समुदाय अझै आधारभूत सेवाबाट टाढा रहेको उहाँले उल्लेख गरे । प्रतिपक्षको आलोचनालाई सरकारविरुद्धको विरोधका रूपमा नभई सरकारलाई सही बाटोमा हिँडाउने खबरदारीका रूपमा ग्रहण गर्ने उनले स्पष्ट पारे ।













