मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत बागमती प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।
महासंघ अध्यक्ष कृष्ण सारु मगरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्को घडीमा प्रभावित क्षेत्रका नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै राज्यका सुरक्षा तथा प्रशासनिक संयन्त्र तत्काल परिचालन गर्न तीनै तहका सरकारसँग माग गरेका हुन् । विज्ञप्तिमा बाढीमा फसेकाको उद्धार, बेपत्ताको खोजी तथा घाइतेको यथोचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ । महासंघले राहत तथा उद्धार कार्यमा सक्रियतापूर्वक जुट्न सम्पूर्ण सरोकारवाला पक्ष र सहयोगी निकायहरुलाई आग्रह पनि गरेको छ ।
विज्ञप्तिमार्फत विपद्का बेला सत्यतथ्य र विश्वसनीय सूचना सम्प्रेषण गरी समाजलाई सही दिशा दिन बागमती प्रदेशका सञ्चारमाध्यम तथा पत्रकारहरूलाई अनुरोध गरिएको छ । यस्तो बेलामा सूचना सम्प्रेषण गर्दा व्यक्तिगत सुरक्षामा सतर्कता अपनाउन तथा पत्रकारिताको आचारसंहिता पूर्ण रूपमा पालना गर्नसमेत सञ्चारकर्मीलाई आग्रह गरिएको अध्यक्ष मगरले बताए ।












