काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको भएका रक्तपात र व्यापक विध्वंशबारे छानबिन गरिने भएको छ।
सरकारले आइतबार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ, जसमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगलाई तीन महिनाभित्र घटनाका दोषी पहिचान गरी कारबाही सिफारिस गर्न समय तोकिएको छ। अध्यक्ष बनेका कार्कीले आन्दोलनका क्रममा किशोरहरू मारिनु, देशव्यापी आगजनी हुनु र सम्पत्तिमा क्षति हुनुका कारणहरूबारे पूर्ण सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही सिफारिस गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनका अनुसार २३ गते आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोग भएको थियो भने २४ गते देशैभर आगजनी र तोडफोड भएको थियो।
आन्दोलनको पहिलो दिन प्रहरीको गोली लागेर र विभिन्न घटनामा परी ७४ जनाको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। मृतकमध्ये आन्दोलनकारी, प्रहरी, कैदीबन्दी र आगलागीमा परेकाहरू रहेका छन्। ठूलो जनधनको क्षति भएपछि दुबै पक्षले आन्दोलनमा बाहिरी घुसपैठ भएको दाबी गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई गोली नचलाउने आदेश दिइएको तर युवाहरूलाई प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली हानिएको दाबी गरेका थिए। उनले यस विषयमा गम्भीर छानबिन आवश्यक रहेको भन्दै मागसमेत गरेका छन्। एमाले नेताहरू सूर्य थापा र विष्णु रिजालले पनि प्रहरीलाई गोली चलाउने आदेश नभएको दाबी गर्दै हत्याकाण्ड, आगजनी र लुटपाटमा संलग्नहरूलाई कठोर कारबाही गर्न माग गरेका छन्। आन्दोलनमा सहभागी जेनजी समूहले पनि आन्दोलनमा घुसपैठ भएको स्वीकार गरेको छ, तर आगजनी र तोडफोड आफ्ना योजनाअनुरूप नभएको दाबी गरेका छन्।
तर पूर्व प्रहरी अधिकारीहरूले भने घटनाबारे फरक तर्क गरेका छन्। पूर्वडीआईजी हेमन्त मल्लका अनुसार संसद् भवन सुरक्षार्थ खटिएका प्रहरीले अर्धस्वचालित एसएलआर र इन्सास हतियार प्रयोग गरेका थिए, जसबाट आन्दोलनकारीलाई गोली लागेको हो। उनका अनुसार यस्ता हतियार भीड नियन्त्रणका लागि उपयुक्त नभए पनि प्रहरीलाई सरकारकै आदेशअनुसार उपलब्ध गराइएका थिए। मल्लले आन्दोलनमा घुसपैठ हुनु सामान्य रहेको उल्लेख गर्दै मृतकलाई लागेका गोलीको प्राविधिक परीक्षणपछि मात्र यथार्थ खुल्ने बताए। प्रहरीका अनुसार आन्दोलनमा १२ सयभन्दा बढी हतियार लुटिएका छन् भने झण्डै एक लाख गोली हराइरहेका छन्। यस्ता मध्ये कतिपय प्रयोग भएका र केही फिर्ता आएका भए पनि कति संख्यामा प्रयोग भए भन्ने एकिन हुन बाँकी रहेको प्रहरी उच्च अधिकारीहरूले बताएका छन्। प्रहरीले हतियार फिर्ता गर्न सार्वजनिक अपिल गरेको छ भने डीआईजी दीपक रेग्मीको नेतृत्वमा क्षतिको विवरण संकलनका लागि छुट्टै टोली खटाइएको छ।
















