मकवानपुर। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा हेटौँडामा आयोजित अन्तरक्रियामा सहभागी पत्रकार तथा सरोकारवालाहरूले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा वर्तमान अवस्था, उब्जँदै गरेका चुनौती र पत्रकारका अधिकार सुनिश्चितताबारे व्यापक छलफल गरिएको थियो।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा भएको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरूले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब बढेको धारणा राखे। उनीहरूले लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता आधारभूत आवश्यकता भए पनि व्यवहारमा त्यसको पूर्ण प्रत्याभूति हुन नसकेको औंल्याए।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईले विभिन्न कालखण्डमा सरकारहरूले फरक–फरक बहानामा प्रेसमाथि अंकुश लगाउने प्रयास गर्दै आएको बताए। ‘लोकतन्त्रमा स्वतन्त्र प्रेस अपरिहार्य हो, तर व्यवहारमा अझै पनि स्वतन्त्र रूपमा काम गर्न सहज वातावरण बनेको छैन ।’ उनले भने। उनका अनुसार नीति र व्यवहारबीचको अन्तरले पत्रकारिताको अभ्यासलाई प्रभावित पारिरहेको छ।
हुमागाईले सामाजिक सञ्जालको तीव्र विस्तारले पत्रकारितामा थप चुनौती सिर्जना गरेको पनि उल्लेख गरे। नागरिकहरूले सामाजिक सञ्जाल र स्थापित सञ्चार माध्यमलाई एउटै दृष्टिकोणबाट हेर्न थालेको भन्दै उनले यसले पेशागत पत्रकारिताको विश्वसनीयतामा असर पारेको बताए। ‘सामाजिक सञ्जालमा फैलिने अपुष्ट र भ्रामक सामग्रीका कारण वास्तविक पत्रकारिताको मूल्यांकनसमेत प्रभावित भएको छ ।’ उनले स्पष्ट पारे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्टले राज्यको दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको धारणा राखे। उनले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण अंग भएकाले राज्यले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने माध्यमका रूपमा होइन, सहकार्य र संरक्षण गर्ने क्षेत्रका रूपमा लिनुपर्ने बताए। ‘पत्रकार र सञ्चार संस्थालाई सशक्त बनाउने नीति आवश्यक छ ।’ उनले जोड दिए।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारहरूले आफ्नो अधिकार, स्वतन्त्रता र पेशागत सुरक्षाका लागि निरन्तर संघर्ष गरिरहेको बताए। उनले प्रेस स्वतन्त्रताको महत्व स्मरण गराउँदै यसका लागि थप एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। ‘अधिकार सुनिश्चितता बिना स्वतन्त्र पत्रकारिता सम्भव हुँदैन ।’ उनले भने।
स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव सुरेश श्रेष्ठले पत्रकारितामा सन्तुलन र जिम्मेवारीको महत्वमाथि जोड दिए। ‘मिडियाकर्मीहरूले सन्तुलित ढंगले सोच्नुपर्छ। त्यसो भए हामीमाथि उठ्ने प्रश्नहरू पनि स्वाभाविक रूपमा घट्छन् ।’ उनले भने। उनका अनुसार पत्रकारिता विश्वसनीय बनाउन आत्मअनुशासन र व्यावसायिक मूल्यमान्यताको पालन अपरिहार्य छ।
अन्तरक्रियामा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य पुष्पराज अधिकारी, मकवानपुर अध्यक्ष सरिता दाहाल,गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुरका अध्यक्ष रमिला सापकोटा, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइवा, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल तथा बागमती प्रदेश सदस्य सुवर्णलाल श्रेष्ठलगायतले पनि धारणा राखेका थिए। वक्ताहरूले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, प्रेस स्वतन्त्रताको सुदृढीकरण र बदलिँदो सञ्चार परिवेशमा देखिएका नयाँ चुनौतीहरूबारे चर्चा गरे।
















