मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको उर्वर भूमि, भौगोलिक विविधता र मेहनती कृषकहरूको जोशले कृषि क्षेत्रमा सफलता हासिल हुन थालेका छन् । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारालाई आत्मसात् गर्दै मकवानपुरगढीले कृषिलाई समृद्धिको आधार बनाएर अघि बढिरहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा संघ, प्रदेश र आन्तरिक स्रोतबाट एक करोड १२ लाख रुपैयाँभन्दा बढी कृषिमा लगानी गरिएको छ । यो लगानीले यहाँका कृषकहरूको जीवनमा हरियाली छर्दैछ र उचित प्रतिफल पनि प्राप्त भइरहेको छ ।
रैथाने बालीदेखि बेमौसमी तरकारीसम्म
मकवानपुरगढीको भौगोलिक बनावटले प्रत्येक वडालाई कृषिको अनुपम सम्भावनाले सजाएको छ । पालिकाले रैथाने बालीको संरक्षण, सङ्कलन, उत्पादन, लेभलिङ, ब्रान्डिङ र बजारीकरणमा विशेष जोड दिएको छ । कृषि विकास शाखाका प्रमुख गोपाल लम्साल भन्छन्, ‘हाम्रो पालिकाको प्रत्येक वडाको भौगोलिक र प्राकृतिक सम्भावनालाई पहिचान गरी त्यसअनुसार सहयोग र लगानी गरिरहेका छौँ ।’ जनजाति बाहुल्य वडा नम्बर १ मा कोदो र जुनेलोजस्ता रैथाने बालीको प्रवद्र्धनसँगै धान खेतीको राम्रो सम्भावनामा पालिकाले प्राविधिक र आर्थिक सहयोग प्रदान गरिरहेको छ । वडा नम्बर २ को तल्लो फाँटमा तरकारी खेती र माथिल्लो भेगमा कोदो, अदुवा र बेसारको सम्भावना छ । कान्तिलोकपथसँग जोडिएको यो क्षेत्रमा राजमार्ग लक्षित तरकारी उत्पादनले कृषकको आय वृद्धिमा ठूलो योगदान पुर्‍याउन सक्ने पालिकाको अपेक्षा छ ।
वडा नम्बर ३ पशुपालन र दुग्ध उत्पादनको हब बन्दैछ, जहाँ केरा, लिची र रुखकटहर जस्ता फलफूल खेती फस्टाइरहेको छ । वडा नम्बर ४ मा अदुवा र कोदो खेतीसँगै एभोकाडो र लिची जस्ता फलफूलको सम्भावना छ । वडा नम्बर ५ मा व्यवसायिक धान, मकै, अदुवा, बेसार र खुर्सानी खेतीका लागि अनुकूल वातावरण छ । वडा नम्बर ६ को तल्लो क्षेत्रमा धान र तरकारी खेती उपयुक्त छ भने माथिल्लो भेगमा मौरी पालन र एभोकाडो खेतीका लागि जमिन अनुकूल छ । वडा नम्बर ७ लाई अदुवा र सिमीको हबका रूपमा विकास गर्न पालिकाले विशेष योजना बनाइरहेको छ । समुन्द्री सतहबाट एक हजार मिटरमाथि रहेको वडा नम्बर ८ को बुढीचौर क्षेत्र बेमौसमी तरकारी, टमाटर, फापर र पिडालु जस्ता रैथाने बालीका लागि उपयुक्त मानिन्छ ।
दुग्ध र फलफूल निर्यात
मकवानपुरगढी गाउँपालिका दुग्ध र तरकारीमा आत्मनिर्भर बनेको छ । लिची र केरामा पनि आत्मनिर्भर भएर निर्यात गर्न सफल भएको छ । पालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान भन्छन्, ‘हाम्रो लक्ष्य आयात प्रतिस्थापन गर्नु र पालिकालाई कृषिमा आत्मनिर्भर बनाउनु हो । बाँझो जमिनलाई उपयोग गर्न कानुन बनाउँदैछौँ र कृषकहरूलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध छौँ ।’ उनले रैथाने बाली कोदो, जुनेलो र फापरबाट स्थानीय रक्सी उत्पादन गरी त्यसको उचित बजारीकरण गर्न सकियो भने पालिकाको आर्थिक हैसियत थप बलियो हुने विश्वास व्यक्त गरे ।
कृषकलाई तालिम, अनुदान र प्राविधिक सहयोग
पालिकाले कृषकलाई व्यवसायिक बनाउन उन्नत बीउ वितरण, यान्त्रिक उपकरण सहयोग र तालिमजस्ता कार्यक्रमलाई तीव्रता दिएको छ । आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष कृष्णप्रसाद बजगाई भन्छन्, ‘कृषकलाई आत्मनिर्भर बनाउन हामीले उन्नत बीउदेखि यान्त्रिक उपकरणसम्मको सहयोग प्रदान गरिरहेका छौँ । हाम्रो प्रयासले कृषकहरूको जीवनस्तर उकासिएको छ ।’ यो आर्थिक वर्षमा पालिकाले आन्तरिक स्रोतबाट ५२ लाख रुपैयाँ विनियोजन गरेको छ । दुई लाख रुपैयाँ लागतमा तरकारीको उन्नत बीउ किट वितरणबाट ९६० जना कृषक लाभान्वित भएका छन् । वडा नम्बर ६ को बागदलीमा ५ लाख रुपैयाँ लगानीमा माटो प्रयोगशाला र अर्को ५ लाख रुपैयाँमा हाइटेक नर्सरी निर्माण भइरहेको छ ।
तीन लाख रुपैयाँ बजेटबाट २४ सय केजी मकैको बीउ र आलु ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । छ लाख रुपैयाँ बजेटबाट वडा नम्बर २, ३, ५, ७ र ८ का ५० जना कृषकले जमिन भाडामा लिएर खेती गर्न सहयोग प्राप्त गरेका छन् । वडा नम्बर २, ६ र ८ मा तीन पटक बाली उपचार शिविर सञ्चालन गरिएको छ ।
मौरी पालन र रैथाने बालीमा सम्भावना
मकवानपुरगढीले मौरी पालनलाई प्राथमिकतामा राखेको छ । पाँच लाख रुपैयाँ बजेटबाट तालिम र मौरी घार वितरण गरिएको छ । एक लाख ३० हजार रुपैयाँ लगानीमा ७ दिने आधारभूत मौरी पालन तालिम सञ्चालन भएको छ भने ३ लाख ७० हजार रुपैयाँ लगानीमा वडा नम्बर २, ६, ७ र ८ का ११ वटा कृषक समूह र फर्मलाई ‘सेरेना’ र ‘मेलिफेरा’ जातका ९० वटा मौरी घार वितरण गरिएको छ । वडा नम्बर ८ की उमा देवकोटाले भनिन्, ‘यो तालिमले हामीलाई मौरी पालन व्यवसायमा अघि बढ्न ठूलो प्रेरणा दिएको छ ।’
रैथाने बाली प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारबाट प्राप्त ४० लाख रुपैयाँ बजेटमध्ये ३० लाख वडा तोकेर र १० लाख रैथाने बाली प्रवद्र्धनमा खर्च गरिएको छ । वडा नम्बर ३ को देवीडाँडामा ८ लाख रुपैयाँ लगानीमा तेलहन बाली प्रवद्र्धनका लागि तेल मिल भवन निर्माण र स्थापना गरिएको छ । यो मिलले वडा नम्बर २ र ६ का बासिन्दालाई समेत लाभ पुग्ने अपेक्षा छ । वडा नम्बर ४ मा अपाङ्गता तथा विपन्न सहकारीमार्फत कोदो, फापर र जुनेलो सङ्कलन र बजारीकरणका लागि ३ लाख ५० हजार रुपैयाँ लगानी गरिएको छ । यस्तै, १ लाख ५० हजार रुपैयाँ लगानीमा अन्य सहकारीमार्फत यन्त्र र उपकरण सहयोग गरिएको छ ।
पढ्दै कमाउँदै’ कार्यक्रम
वडा नम्बर २ को वंशगोपाल प्राविधिक विद्यालयमा सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रमले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई सिकाइसँगै व्यावहारिक अनुभव प्रदान गरिरहेको छ । यो कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो पहलले भावी पुस्तालाई कृषिमा आत्मनिर्भर बनाउन प्रेरित गरिरहेको छ ।
साना कृषकलाई मागमा आधारित सहयोग
पालिकाले साना-भुइँ कृषकलाई लक्षित मागमा आधारित सहयोग कार्यक्रम सञ्चालन गरेको छ । छ लाख रुपैयाँ बजेटबाट वडा नम्बर २, ३, ४, ५, ७ र ८ का १८ जना कृषकले प्रत्यक्ष लाभ लिएका छन् । यो कार्यक्रमले कृषि समूह वा फर्ममा आबद्ध हुन नसकेका साना कृषकलाई समेट्ने लक्ष्य राखेको छ ।
रैथाने बाली प्रर्बद्धनका लागि कोसेली घरदेखि होर्डिङ बोर्डसम्म
रैथाने बालीको महत्व उजागर गर्न पालिकाले केही नयाँ प्रयत्न पनि गरेको छ । वडा नम्बर २ मा ३० हजार रुपैयाँ लागतमा कोसेली घर निर्माण गरिएको छ । वडा नम्बर ३ को मक्राञ्चुली र वडा नम्बर ४ को मनकामना डाँडामा रैथाने बालीको महत्व झल्काउने होर्डिङ बोर्ड राखिएको छ । करिब ४०० जना कृषकलाई रैथाने तथा कोसे बालीको उन्नत किट वितरण गरिएको छ । वडा नम्बर २, ४ र ८ मा रैथाने बाली प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ ।
कृषकको तथ्याङ्क र परिचय
पालिकाले कृषकको अवस्था सूचीकरण गरी किसान परिचयपत्र वितरणलाई निरन्तरता दिएको छ । वडा नम्बर २, ५ र ७ मा कृषि, पशुपन्छी र मत्स्य तथ्याङ्क अद्यावधिक गर्न ६० हजार रुपैयाँ खर्च गरिएको छ । यो कार्यले कृषकको पहिचान र सहयोगको पहुँचलाई सहज बनाएको छ ।
समृद्धिको सुनौलो सपना
वडा नम्बर ८ का कृषक बालानन्द तिमल्सिनाले रैथाने बाली प्रर्वधनमा पालिकाको सहयोगप्रति उत्साह व्यक्त गरे । ‘हाम्रा पुर्खाले खेती गरेका बालीलाई पुनर्जन्म दिन पालिकाले गरेको सहयोगले हामीलाई नयाँ जोश दिएको छ ।’ उनले भने । वडा नम्बर ६ मा एभोकाडो प्रर्वधनका लागि प्रदेश सरकारबाट प्राप्त १० लाख र बाँझो जमिनमा तरकारी तथा फलफूल खेतीका लागि ७ लाख रुपैयाँ बजेटले कृषकहरूमा नयाँ आशा जगाएको छ ।
गाउँपालिकाले कृषिलाई समृद्धिको आधार बनाउन अथक प्रयास गरिरहेको छ । बाँझो जमिनको उपयोग, रैथाने बालीको प्रवद्र्धन, बेमौसमी तरकारी, फलफूल खेती, मौरी पालन र पशुपालनमा लगानी र सहयोगले यहाँका कृषकहरू आत्मनिर्भर बन्दैछन् । पालिकाका अध्यक्ष स्याङ्तान भन्छन्, ‘हामीले कृषकलाई सशक्त बनाएर मात्रै समृद्ध मकवानपुरगढीको सपना साकार हुन्छ ।’ कृषि विकास शाखाका प्रमुख लम्साल थप्छन्, ‘हाम्रो लक्ष्य प्रत्येक कृषकलाई आत्मनिर्भर बनाउनु र पालिकालाई कृषिमा नमूना बनाउनु हो ।’ मकवानपुरगढीको यो हरियाली क्रान्तिले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउँदै आयात प्रतिस्थापनको बाटोमा दृढतापूर्वक अघि बढिरहेको छ ।