मकवानपुर । मकवानपुरको हेटौंडा–१२, घलेटोलमा बिहानको चिसो हावासँगै सुकाइँदै गरेको रायोको सागको सुवास फैलिन्छ। यही सुवासले अहिले यहाँका महिलाको जीवनमा नयाँ सम्भावनाको ढोका खोलेको छ। परम्परागत परिकार गुन्द्रुकलाई व्यवसायमा रूपान्तरण गर्दै उनीहरूले आत्मनिर्भरतातर्फको यात्रा सुरु गरेका छन्सं-घर्ष, सहकार्य र दृढ इच्छाशक्ति बोकेर।
स्थानीय कञ्चनजङ्घा महिला कृषि सहकारी संस्थाअन्तर्गतको महिला उद्यमी समूहले गुन्द्रुक उत्पादन र बिक्रीलाई तीव्रता दिएको छ। हेटौँडा उपमहानगरपालिकाको एक लाख रुपैयाँ सहयोगबाट सुरु गरिएको यो पहल अहिले क्रमशः व्यवसायिक मोडलतर्फ अघि बढिरहेको छ। सुरुमा सामान्य घरेलु अभ्यास जस्तो देखिएको कामले अहिले आयआर्जनको भरपर्दो माध्यमको रूप लिँदै गएको छ।
समूहकी अध्यक्ष चिनिमाया गुरुङ भन्छिन्, ‘पहिले हामीले आफ्नै घरका लागि मात्र गुन्द्रुक बनाउँथ्यौं, अहिले भने बजार लक्षित उत्पादन गर्न थालेका छौं। यसले महिलाहरूलाई आर्थिक रूपमा बलियो बनाउने बाटो खोलेको छ।’ उनका अनुसार, उत्पादन मात्र होइन, बजारसम्म पुग्ने प्रक्रिया सिक्नु नै सबैभन्दा ठूलो उपलब्धि भएको छ।
यो परिवर्तन एक्लै सम्भव भएको होइन। ग्रीन फाउन्डेसन, अस्मिता नेपाल र प्राकृतिक स्रोत महिला अधिकार सञ्जालजस्ता संस्थाहरूले समूहलाई विभिन्न चरणमा साथ दिएका छन्। आवश्यक सामग्री वितरणदेखि लिएर गुन्द्रुकको अचार बनाउने तालिम, बजार व्यवस्थापन, नेतृत्व विकास, व्यवसायिक सीप अभिवृद्धि र प्याकेजिङसम्बन्धी तालिमसम्मको सहयोगले महिलाहरूलाई आत्मविश्वास थपेको छ। साथै, बजारसँग समन्वय गर्ने प्रक्रियामा पनि संस्थाहरूको सक्रिय भूमिका देखिएको छ।
घलेटोलका महिलाहरूले लामो समयदेखि रायोको साग उत्पादन गरी गुन्द्रुक बनाउने अभ्यास गर्दै आएका थिए। तर, त्यो अभ्यास सीमित दायरामा थियो। अहिले भने उनीहरूले आफ्नै उत्पादनलाई ब्रान्डिङ गर्दै जिल्ला बाहिरसम्म बिक्री विस्तार गर्न थालेका छन्। यसले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने सम्भावना उजागर गरेको छ।
समूहकी एक सदस्य भन्छिन्, ‘हामीले बनाएको गुन्द्रुक काठमाडौंसम्म पुग्न थालेको छ। अब त विदेशमा पनि नेपाली परिकारको माग बढ्दै गइरहेको सुनेका छौं, त्यसतर्फ पनि सोचिरहेका छौं।’ उनीहरूको यो आत्मविश्वास केवल शब्दमा सीमित छैन, बजारमा देखिएको माग र विस्तार हुँदै गएको सञ्जालले त्यसलाई प्रमाणित गरिरहेको छ।
यही सम्भावनालाई अझ बलियो बनाउन बागमती प्रदेश सभा सदस्य भारती पाठकले पनि पहल थालेकी छन्। उनको समन्वयमा प्रदेश सरकारसँग सहकार्य गरी गुन्द्रुक बिक्री केन्द्र निर्माण कार्य सुरु गरिएको छ। यो केन्द्र निर्माण भएपछि उत्पादनलाई व्यवस्थित रूपमा प्रदर्शन र बिक्री गर्ने प्लेटफर्म उपलब्ध हुनेछ, जसले व्यवसायलाई थप गति दिने अपेक्षा गरिएको छ।
सांसद पाठक भन्छिन्, ‘गुन्द्रुकजस्तो परम्परागत परिकारलाई व्यवसायमा रूपान्तरण गर्नु महत्वपूर्ण उपलब्धि हो। यसको बजार राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्न सकिन्छ। त्यसका लागि आवश्यक संरचना र व्यवस्थापनमा प्रदेश सरकार सहयोग गर्न प्रतिबद्ध छ।’ उनले अझै व्यवस्थापनका धेरै काम बाँकी रहेको उल्लेख गर्दै विभिन्न संघसंस्थासँग समन्वय गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन्।
गुन्द्रुक नेपाली भान्साको एक पहिचान मात्र होइन, ग्रामीण अर्थतन्त्रको सम्भावनाको स्रोत पनि हो। पछिल्लो समय स्वास्थ्यप्रति सचेत उपभोक्ताको बढ्दो रुचिले पारम्परिक, प्राकृतिक र किण्वित खानेकुराप्रति आकर्षण बढाएको छ। यही सन्दर्भमा गुन्द्रुकको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार हुँदै गएको देखिन्छ।
तर, अवसरसँगै चुनौती पनि छन्। गुणस्तर मापदण्ड, प्याकेजिङ, ब्रान्डिङ, निर्यात प्रक्रिया र बजार पहुँचजस्ता पक्षहरू अझै सुदृढ गर्न आवश्यक छ। घलेटोलका महिलाहरूले यही चुनौतीलाई अवसरमा बदल्ने प्रयास गरिरहेका छन्।
















