न्याय खुला आकाशमा

काठमाडौं । जेनजी आन्दोलनले देशभरका न्यायालय र सरकारी निकायहरूलाई ध्वस्त पारेको दुई सातापछि सर्वोच्च अदालत पुनः आफ्नो नियमित लयमा फर्कन संघर्षरत छ। भदौ २४ गते प्रदर्शनकारीहरूले गरेको व्यापक आगजनी र तोडफोडले देशको न्यायिक प्रणालीलाई नै अपाङ्ग बनाइदिएपछि सर्वोच्च अदालतले खुला आकाशमुनि पाल टाँगेर सांकेतिक रूपमा इजलास सञ्चालन गरेको छ। इजलास भवन खरानी बनेको अवस्थामा पनि केही कुर्सी र टेबुलहरूको जोहो गरेर त्रिपालमुनि न्यायिक प्रक्रिया अघि बढाएको यो दृश्यले विध्वंशबीच पनि न्यायलाई निरन्तरता दिने अदालतको दृढतापूर्ण मनोबल झल्काएको छ।

सोही दिनदेखि सर्वोच्च परिसरमा जलेर थुपारिएका गाडीहरू हटाइएका छन् र त्रिपालमुनि साधारण काठका कुर्सी–टेबल राखेर अस्थायी इजलास सञ्चालन गरिएको छ। एकातिर न्यायाधीशहरू, अर्कातिर इजलास अधिकृत र नजिकै कानुन व्यवसायी बस्ने व्यवस्था मिलाइएको छ। उच्च मनोबलका साथ फर्किएका कर्मचारीहरूले न्यायिक गतिविधि सञ्चालन गर्न थालेका छन्। यसरी ध्वस्त भएको अदालतमा ९ दिनपछि पहिलोपटक दुई वटा बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गरिएको हो। न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको बेग्लाबेग्लै इजलासमा दर्ता भएका रिटमा प्रारम्भिक सुनुवाइ भएको छ, जसले विध्वंसको कठिन घडीमा पनि न्यायलाई रोक्न नसकिने सन्देश दिएको छ।

जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत मात्र नभई सिंहदरबार, जिल्ला अदालतहरू, विशेष अदालत र उच्च अदालतका संरचनाहरू समेत जलाईएको छ। काठमाडौँसहित १० वटा जिल्ला अदालतमा आगजनी भई ठूलो क्षति पुगेको पाइएको छ। कपिलवस्तु, सप्तरी, बाँके, चितवन, कास्की, रुपन्देही, पर्सा र मकवानपुरका जिल्ला अदालतहरूमा समेत आगजनी हुँदा कागजात र संरचना नष्ट भएका छन्। उच्च अदालत हेटौंडा, तुलसीपुर बुटवल इजलास, विराटनगर र राजविराजमासमेत आगजनी हुँदा देशभरैको न्यायिक संरचना अस्तव्यस्त बनेको छ।

यस आगजनीले करिब ६० हजारभन्दा बढी महत्वपूर्ण कागजात खरानी बनाएको छ। देशका विभिन्न अदालतमा रहेको फाइलहरूको नष्ट हुनु न्याय खोज्ने हजारौं नागरिकका लागि गम्भीर धक्का बनेको छ। सूचना–प्रविधि प्रणालीको सर्भरमा क्षति पुगेकाले अनलाइनसँग सम्बन्धित सम्पूर्ण काम अवरुद्ध भएको छ। जसले गर्दा केस व्यवस्थापनदेखि अन्य डिजिटल प्रक्रियासम्म रोकिएको छ।

यद्यपि, संरचना ध्वस्त भए पनि कर्मचारीहरू उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा फर्किएका छन्। कतिपय कार्यालयहरूमा सरसफाई गरी सेवा सुरु गरिएको छ भने कतै पुनर्निर्माणको काम भइरहेको छ। सिंहदरबारलगायत विभिन्न क्षेत्रमा रङरोगन गरेर भत्किएका पर्खाल र ढोकाजस्ता संरचनाहरू मर्मतको प्रयास भइरहेको छ।