मकवानपुर । कक्षाकोठाभित्रको पाठ्यपुस्तक मात्रै होइन, खेलमैदान, मञ्च र प्रयोगशालासम्म फैलिएको सिकाइलाई प्राथमिकतामा राख्दै हेटौंडा उपमहानगरपालिका वडा नं. ४ ले शिक्षा सुधारमा अग्रसर गराइरहेको छ ।

शुक्रबार आयोजित पत्रकार भेटघाटमा वडाले विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर वर्षभर सञ्चालन गरिने विविध शैक्षिक, खेलकुद तथा सिर्जनात्मक कार्यक्रमहरू सार्वजनिक गर्‍यो ।

‘हामीले शिक्षा क्षेत्रमा ४० प्रतिशतभन्दा बढी बजेट लगानी गरेका छौं ।’ वडाध्यक्ष नवीन सिग्देलले भने, ‘यो लगानी केवल भवन वा संरचनामा होइन, गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको आधार निर्माणमा केन्द्रित छ ।’ उनका अनुसार वडाभित्र मात्र १६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमा मकवानपुर बाहेक बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिराहा र सिन्धुलीबाट समेत विद्यार्थी आउने गरेका छन् । ‘हाम्रो प्रयासले अन्य जिल्लामा पनि सकारात्मक प्रभाव पारेको छ । उनले थपे ।

प्रतिस्पर्धाबाट सहयोगतर्फ
वडाले सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । यही उद्देश्यसहित बैशाख १८ र १९ गते जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिँदैछ, जसमा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार रुपैयाँ, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दुई सान्त्वना टिमलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यो प्रतियोगिता केवल खेलकुद प्रतिस्पर्धा मात्र नभई शिक्षकहरूबीच सहकार्य र आपसी सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा हेरिएको छ । ‘शिक्षकहरू स्वयं सक्रिय र ऊर्जावान भए मात्रै विद्यार्थीहरूमा सकारात्मक प्रभाव पर्छ ।’ एक आयोजक सदस्यले बताए ।

खेलकुद महोत्सवको निरन्तरता
गत फागुन २ गते करिब १२०० विद्यार्थीको सहभागितामा सम्पन्न तेस्रो खेलकुद महोत्सवको उत्साह अझै सेलाएको छैन । यही महोत्सवअन्तर्गत बैशाख २७ गते आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा पुरस्कार वितरण कार्यक्रम आयोजना हुँदैछ, जहाँ करिब ३५० विद्यार्थीलाई सम्मान गरिनेछ ।

फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, एथलेटिक्सदेखि लिएर हाजिरी जवाफ, निबन्ध, कविता र वक्तृत्वकलासम्मका विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । शिक्षकतर्फ पुरुष फुटबल र महिलातर्फ ‘टग अफ वार’ प्रतियोगिता पनि समावेश गरिएको थियो । विजेताहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

उही दिन दिउँसो कक्षा ८ का उत्कृष्ट विद्यार्थी, अभिभावक र शिक्षकलाई विशेष सम्मान गरिने कार्यक्रम राखिएको छ । जिपिए ४ ल्याउने विद्यार्थीलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ भने उत्कृष्ट नतिजा दिलाउने शिक्षकलाई पनि पुरस्कृत गरिनेछ । अन्य उच्च जिपिएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सिर्जनात्मकता र विज्ञानको संगम
शिक्षालाई अझ जीवन्त र व्यवहारिक बनाउने प्रयासस्वरूप जेठ १४ गते रोयल पार्टी प्यालेसमा बृहत शैक्षिक प्रदर्शनी, चित्रकला तथा नृत्य प्रतियोगिता आयोजना गरिँदैछ । करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको यस कार्यक्रममा विद्यार्थीहरूले विज्ञान विषयमा आधारित प्रदर्शनी प्रस्तुत गर्नेछन् ।

प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीले क्रमशः ३०, २०, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ‘पचास वर्षपछि हेटौँडा’ विषयक चित्रकला प्रतियोगिता पनि आकर्षणको केन्द्र रहनेछ, जसमा उत्कृष्ट विद्यार्थीलाई २० हजारसम्म पुरस्कार दिइनेछ ।
त्यस्तै, राष्ट्रिय तथा मौलिक गीतमा आधारित नृत्य प्रतियोगिताले सांस्कृतिक चेतनालाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । नगरभित्रका विद्यालयबाट सहभागी हुने विद्यार्थीहरूबीच हुने यस प्रतियोगितामा प्रथमले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१० लाखको लगानी, दीर्घकालीन लक्ष्य
यी सबै कार्यक्रम सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर, वडाका लागि यो खर्चभन्दा बढी दीर्घकालीन लगानी हो कि विद्यार्थीको क्षमता, आत्मविश्वास र सिर्जनशीलतामा गरिएको लगानी ।

हेटौँडा ४ को यो पहलले देखाएको छ-शिक्षा केवल परीक्षा पास गर्ने माध्यम होइन, जीवनका विभिन्न आयाममा सक्षम नागरिक तयार पार्ने आधार हो । यहाँको प्रयासले एउटा सन्देश दिएको छ कि जब स्थानीय तहले शिक्षा, खेलकुद र सिर्जनात्मकतालाई एकैसाथ अघि बढाउँछ, तब विकासको गति केवल संरचनामा होइन, मानवीय क्षमतामा पनि देखिन्छ ।