मकवानपुर । हेटौँडा उपमहानगरपालिका-४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले बाग्मती प्रदेशको राजधानी हेटौँडालाई आफ्नो पहिचानसहित विकसित शहरका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश राजधानी कागजी मात्र नभई व्यवहारिक रूपमा विकास गर्नुपर्ने उनको भनाई छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत विचार सार्वजनिक गर्दै अध्यक्ष सिग्देलले हेटौँडालाई केवल पालिकाको संरचनाभित्र सीमित राख्न नहुने बताएका हुन्। जसरी केन्द्रीय राजधानी काठमाडौँलाई केवल महानगरपालिका भनेर मात्र नहेरी राष्ट्रिय राजधानीका रूपमा चिनिन्छ, त्यसैगरी बाग्मती प्रदेशको राजधानी हेटौँडालाई पनि फरक पहिचान सहित विकास गर्न आवश्यक रहेको उनको धारणा छ।

सिग्देलले राजधानीलाई वास्तविक अर्थमा स्थापित गर्न निश्चित मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरेका छन्। उनले हेटौंडालाई शिक्षाको केन्द्र, स्वास्थ्य सेवाको केन्द्र, खेलकुदको केन्द्र, भाषा,साहित्य तथा संस्कृतिको केन्द्र, पर्यटनको केन्द्र, उद्योगको केन्द्र र कृषिको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। साथै आधुनिक सहरका मापदण्डअनुसार सुविधा सम्पन्न पूर्वाधार निर्माण अपरिहार्य रहेको उनको भनाइ छ।

हेटौँडालाई उपमहानगरपालिका वा महानगरपालिका बनाउने बहसभन्दा माथि उठेर ‘बाग्मती प्रदेश राजधानी हेटौँडा’ का रूपमा चिनिने गरी विकास गर्ने सोच आवश्यक रहेको उनको जोड छ ।