मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ वर्ष २०८३ मा देशले विकास र समृद्धिको नयाँ काँचुली फेरोस् भन्ने कामना गरेका छन् ।
मंगलबार विहान शुभकामना सन्देश जारी गर्दै प्रमुख देवकोटाले सुशासन र न्यायको स्थापनामा जोड दिएका छन् ।
सन्देशमा देवकोटाले नयाँ वर्षले सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै विगतका अनुभवहरूबाट शिक्षा लिँदै नयाँ उत्साह र उमंगका साथ अघि बढ्न यो नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
युवा शक्तिलाई आफ्नै माटोमा पसिना बगाउने वातावरण सिर्जना गर्नु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको मुख्य आवश्यकता रहेको सन्देशमा उल्लेख छ । यस्तै, देशको मेरुदण्ड भनेकै राजनीतिक स्थिरता र आर्थिक विकास भएको उल्लेख गर्दै स्थिर नीति र स्पष्ट भिजनले मात्र देश समृद्धिको बाटोमा लाग्ने सन्देशमा बताएका छन् ।
सबै नेपालीमा आपसी सद्भाव, भ्रातृत्व र सहिष्णुता कायम राख्दै देशको विकासमा इमान्दार भई लाग्ने प्रेरणा देओस् भनी शुभेच्छा प्रकट गर्दै प्रमुख देवकोटाले नयाँ वर्ष केवल पात्रो परिवर्तन मात्र नभई देशको मुहार फेर्ने संकल्पको वर्ष बन्नुपर्नेमा जोड दिएका छन् ।




















