अहिलेसम्म हाम्रो संस्थामा राजनीतिले अप्ठेरो पारेको छैन

० कात्तिक १८ गते तपाईंहरूको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १६औँ साधारण सभा तथा आठौँ अधिवेशन हुँदै छ । त्यसको तयारी पूरा भयो ?

हामीले १६औँ साधारण सभा तथा आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेका छौँ । अहिले बाँके जिल्लामा १७० जना व्यवसायी साथीहरू हामीसँग आबद्ध हुनुहुन्छ । उहाँहरूको सदस्यता नवीकरणको काम सकिएको छ । उहाँहरू सबैले निमन्त्रणा पनि पाइसक्नुभएको छ । कार्यक्रम भव्य रूपमा सम्पन्न हुन्छ भन्ने कुरामा हामी आशावादी छौँ ।

० यो अधिवेशनले आगामी नयाँ नेतृत्व पनि छान्ने भएकाले यसमा तपाईं पुनः अध्यक्षका लागि आकांक्षी हुनुहुन्छ कि ?

होइन, म अब फेरि दोहो¥याएर अध्यक्ष बन्दिनँ । नयाँ साथीहरूलाई अगाडि बढाउने हो । सबैले पालो पु¥याएर नेतृत्व सम्हाल्ने हाम्रो परम्परा छ । अबको अधिवेशनबाट नयाँ साथी नेतृत्वमा आउनुहुन्छ ।

० विधानले नै एक कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने भन्ने छ कि ? परम्परा मात्र हो ?
विधानमा त त्यस्तो व्यवस्था छैन । दोहो¥याएर नेतृत्वमा आउनै नपाउने भन्ने हुँदैन । तर हामीले एक कार्यकालभन्दा बढी नेतृत्व नगर्ने भन्ने चलन बसाएका छौँ । सबै साथीहरूले पालो पनि पाउनुप¥यो नि ! माथि जान चाहने साथीहरूका लागि प्रदेश, केन्द्रलगायत माथिल्ला कार्यसमितिहरू छन् । त्यहाँ पनि जान सकियो । अहिले हाम्रो जिल्लाबाटै साथीहरू केन्द्रीय सचिव र प्रदेश उपाध्यक्षसम्म पनि हुनुभएको छ ।

० भनेपछि अब तपाईं माथिल्ला कार्यसमितिहरूको आकांक्षी हुनुहुन्छ ?

त्यति धेरै आकांक्षी पनि होइन । तर अब सबै साथीभाइ चिनेजानेका हुनुहुन्छ । यदि उहाँहरूले तपाईं आउनुपर्छ, आउनुहोस् भनेर हार्दिकतापूर्वक सहज वातावरण बनाउनुभयो भने माथिल्ला समितिमा पनि जान सक्छु । तर मोफसलमा बसेर केन्द्रीय समितिमा जानु पनि त्यति अर्थ रहँदैन कि जस्तो मलाई लाग्छ । बाँके क वर्गको जिल्ला भएकाले पनि यो जिल्लाबाट केन्द्रमा पनि उपस्थिति हुनुपर्छ भन्ने जिल्लाका साथीहरूको भनाइ रहन्छ । हेरौँ अब के हुुन्छ ! जिल्लाका अग्रजहरू, कार्यसमिति तथा व्यवसायी साथीहरूसँग सल्लाह गरेर नै हामी एउटा निष्कर्षमा पुग्छौँ ।

० आमरूपमा व्यावसायिक संघसंस्थाका अधिवेशनहरूलाई पनि हिजोआज राजनीतिक रङ दिने गरेको पाइन्छ । तपाईंहरूको अधिवेशनमा पनि यस्तै हो कि ?

बिल्कुल होइन, हामीहरूको संस्थामा आजका मितिसम्म राजनीतिक अभिप्रायले कोही आउनुभएको छैन । राजनीतिक कारणले कुनै अप्ठेरो परेको पनि छैन । हाम्रोमा क्रमिक रूपमा नेतृत्वमा पदोन्नति हुँदै जाने परम्परा छ । सकभर हामी सर्वसम्मतिबाटै नेतृत्व र कार्यसमिति चुन्ने प्रयास गर्छौं । यद्यपि मेरो पालामा चाहिँ चुनाव भएको थियो । म चुनावबाट अध्यक्ष चुनिएको हुँ ।

० तपाईंको कार्यकाल कस्तो रह्यो त ? आफैँले आफ्नो मूल्यांकन गर्दा के पाउनुहुन्छ ?

मैले गर्न खोजेका केही काम अझै पनि थाती छन् । ती कामलाई आगामी कार्यकालमा आउने साथीहरूले निरन्तरता दिएर पूरा गर्नुहुन्छ भन्ने अपेक्षा छ । मेरो नेतृत्वको कार्यकाल केही असहज पनि भयो । कोरोना भाइरस, आर्थिक मन्दीलगायतका कारण सोचेअनुरूप काम गर्न सक्ने वातावरण रहेन । तर पनि हामीले नियमित गर्नुपर्ने काम ग¥यौँ । सदाझैँ पुस्तक दिवसलाई भव्य रूपमा सम्पन्न गर्ने, सामाजिक कामअन्तर्गत रक्तदानलगायतका विभिन्न कार्यक्रमहरू सम्पन्न ग¥यौँ । हामीले प्रदेश र केन्द्रीय अधिवेशनहरूमा सक्रिय सहभागिता जनायौँ । हाम्रो केन्द्रीय समितिको मोटोअनुसार मेरो कार्यकालमा बाँकेमा एउटा ई–लाइबे्ररी स्थापना गर्ने प्रयास गरेका थियौँ । तर विविध कारणले त्यो मेरो कार्यकालमा पूरा हुन सकेन । प्रक्रियामै रह्यो । अब आगामी कार्यकालमा साथीहरूले यसलाई पूरा गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु ।

० मुलुकका प्रायः पेसा व्यवसायीहरूले आर्थिक मन्दीको मार खेपिरहेका बेला पुस्तक तथा स्टेशनरी व्यवसायीले वर्तमानमा कस्तो अनुभव गरिरहेका छन् ? तपाईंको व्यक्तिगत अनुभव के छ ?

वास्तवमा मुलुकका हरेक क्षेत्र अहिले आर्थिक मन्दीको चपेटामा छन् । व्यापारीहरू व्यापार व्यवसाय नभएका कारण विस्थापित हुने अवस्थामा पुगेका छन् । पहिलेको तुलनामा हाम्रो व्यवसायमा पनि ह्रास त अवश्य आएको छ । तर पुस्तक तथा स्टेशनरी व्यवसायीले अरू व्यवसायीको जस्तो धेरै संकटको सामना भने गर्नुपरेको छैन भन्ने मलाई लाग्छ । सामान्य खर्च चलाउन र बालबच्चा पढाउन सक्ने अवस्था अझै पनि छ । मैदान छोडेर भाग्नुपर्ने अवस्था हाम्रा साथीहरूलाई छैन । मान्छेसँग खर्च गर्ने सामथ्र्य नै नभएपछि खर्च नियन्त्रण गर्ने नै भए । त्यसको असर सबै व्यापार व्यवसायमा पर्ने नै भयो ।

० तुलनात्मक रूपमा पुस्तक तथा स्टेशनरी व्यवसायमा आर्थिक संकटको प्रभाव कम पर्नुको कारण के हुनसक्छ ?

नेपालमा बालबालिकाको शिक्षादीक्षालाई प्राथमिकतामा राखिन्छ । नेपाली अभिभावकहरूले आफूसँग भए पनि नभए ऋणधन गरेर भए पनि छोराछोरी पढाउने कुरालाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ । आफ्ना सन्तानको स्वास्थ्य र शिक्षाप्रति नेपाली अभिभावक चिन्तित छन् । यही कारणले पनि हो कि सायद हाम्रो व्यवसायमा आत्तिइहाल्नुपर्ने अवस्था आएको छैन ।

० यो व्यवसायमा रहेका प्रमुख समस्या र चुनौती के छन् ?

पुस्तक तथा स्टेशनरी व्यवसायमा रहेको सबैभन्दा ठूलो समस्या भनेको बैंकको ब्याजदर नै हो । हिजो थोरै ब्याज दर थियो । बंैकले पैसा पनि सजिलै दिन्थ्यो । तर आज बैंकले ब्याज दर ह्वात्तै बढाइदिएको छ । अर्कातिर आर्थिक संकटका कारण यही बेला व्यवसायमा ह्रास आएको छ । त्यस्तै अर्को चुनौती भनेको १२ कक्षापछिका विद्यार्थी विदेश पलायन हुनु हो । त्यस्तै, प्रविधिका कारणले पनि यो व्यवसायमा ह्रास आउन थालेको छ । हिजोका दिनमा सरकारी कार्यालयहरूलाई चाहिने मलेप फाराम, माग फारम, खरिद आदेश, जिन्सी खाता, नगदी रसिद आदि यही व्यवसायबाट पूर्ति हुन्थ्यो । तर आज यी सबै कम्प्युटराइज सिस्टमबाट आपूर्ति हुन्छन् ।
२०६५ सालभन्दा अघिसम्म नेपालमा विभिन्न गैरसरकारी संस्थाहरू कार्यरत थिए । उनीहरूले पनि स्टेशनरी सामानको केही खपत गर्थे । यस्ता संस्थामार्फत विभिन्न विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरीका सामग्री सहयोग गर्ने चलन थियो । तर पछिल्लो समयमा त्यो पनि हरायो । अर्को महत्वपूर्ण कुरा, पुस्तक बिक्री ह्वात्तै घटेको छ । मानिसहरूमा पठन संस्कृति लोप भएर गएको छ ।

० व्यवसायीहरूले नीतिगत सुधारका कुरा पनि उठाउने गरेका छन् । यो व्यवसायमा कस्ता नीतिगत अप्ठेराहरू छन् ?

केही नीतिगत रूपमा सुधार गर्नुपर्ने कुराहरू पनि छन् । राज्यले त्यसमा ध्यान दिन सकेको छैन । पुस्तक तथा स्टेशनगरी व्यवसायीहरूले यसैसँग सम्बन्धित स–साना उद्योग पनि सञ्चालन गर्दै आएका छन् । उनीहरूले उद्योगका लागि चाहिने कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यस्ता कच्चा पदार्थ ल्याउँदा भन्सार दर उच्च पर्ने गरेको छ । कच्चा पदार्थ ल्याउँदा १३ प्रतिशत भन्सार दर तिर्नुपर्छ । जबकि सोझै तयारी सामान ल्याउँदा जम्मा ५ प्रतिशत मात्र भन्सार तिरे पुग्छ । यसले गर्दा पनि यहाँ उत्पादन गरिएका बस्तुको मूल्य बढ्ने भयो । अर्कोतिर पुस्तक आयात गर्दा कुनै भ्याट नलाग्ने भनिएको छ । तर व्यवहारमा त्यो लागू हुन सकिरहेको छैन ।

० उद्योगका कुरा पनि गर्नुभयो । बाँकेमा कति छन् त्यस्ता उद्योगहरू ?

स–सानो स्केलमा भए पनि बाँकेमा पुस्तक तथा स्टेशनरीसँग सम्बन्धित उद्योग खुलेका छन् । यद्यपि पछिल्लो समयमा ती घट्दो क्रममा छन् । जस्तो, प्रकाशन गृह, छापाखानहरू, अपसेट पे्रस, कापी तथा विभिन्न किसिमका रजिस्टरहरू बनाउने उद्योग बाँकेमा पनि सञ्चालनमा छन् । तर सरकारले उचित अनुगमन नगर्दा ती धरासायी हुने अवस्थामा पुगेका हुन् । जस्तो मिसन टुडेलाई प्रकाशक बनाएर तपाईंले कुनै पुस्तक छाप्नुभयो । तर त्यसलाई तपाईंले आफ्नो व्यक्तिगत पहलमा बिक्रीवितरण गर्नुभयो । त्यसप्रति सरकारको कुनै नियमन अनुगमन हुने गरेको छैन । यसले प्रकाशन व्यवसायमा त असर गरिरहेको हुन्छ । व्यक्तिले राज्यलाई कुनै कर त तिर्नुपर्दैन । त्यही कुरा प्रकाशन गृहमार्फत भयो भने प्रकाशन उद्योगलाई पनि फाइदा पुग्छ, सरकारले पनि त्यसबाट केही लाभ लिन सक्छ ।

० तपाईंहरूको यो व्यवसाय वा उद्योगले बाँकेमा कति जति रोजगारी सिर्जना गर्न सकेको छ ?

अब यसलाई अलि विस्तृत रूपमा हेर्नुपर्छ । पुस्तक तथा स्टेशनरी मात्र नभएर प्रकाशन गृह, अपसेट प्रेस, कापी उद्योगलगायत पनि हामीसँग रिलेटेड छन् । यी सबैले गरेर बाँकेमा प्रत्यक्ष रूपमा ४–५ सय जनालाई रोजगारी सिर्जना गरेका होलान् भन्ने अनुमान छ ।

० अन्य जिल्लाहरूको तुलनामा यो कस्तो अवस्था हो ?

यो राम्रो अवस्था हो । पश्चिम नेपालको हकमा धनगढी र नेपालगन्जले यो व्यवसायबाट सिर्जना गरेको रोजगारीको अवस्था उस्तै–उस्तै होला । अन्य जिल्लामा त अवस्था झन् खराब छ । बर्दियामा रोजगारी छँदै छैन भन्दा पनि हुन्छ । सुर्खेतमा पनि अवस्था त्यस्तै छ । अन्य पहाडी जिल्लाहरूमा झन् के होला !

० तपाईंहरूको व्यवसायमा दुईटा विधा जोडिएको छ, एउटा पुस्तक अर्को स्टेशनगरी । यी दुईमा तुलनात्मक रूपमा कुन व्यवसाय बढी चलेको छ बजारमा ?

यद्यपि पुस्तक पठन संस्कृति घटेको छ । तर ट्रान्जेक्सनको हिसाबले भन्ने हो भने फेरि पुस्तककै व्यापार बढी हुन्छ । किनभने पाठ्यपुस्तकहरूका कारण सिजनमा पुस्तकको व्यापार बढी हुन्छ । तर फेरि पाठ्यपुस्तक बाहिरका पुस्तकको भने बिक्री–वितरण चाहिँ घटेको साँचो हो ।

० पाठ््यपुस्तक वितरणमा हिजोका दिनमा देखिने गरेको समस्या चाहिँ अहिले कस्तो छ ?

अहिले नेपाल सरकारले ६ देखि १० कक्षासम्मको जनक शिक्षाले वितरण गर्ने र १ देखि ५ कक्षासम्म निजी संस्थाहरूले वितरण गर्ने व्यवस्था मिलाएको छ । हिजोका दिनमा बाटोको कठिनाइ, चार्टर्ड फ्लाइटको समस्याका कारण दुर्गम जिल्लाहरूमा समयमै पाठ्यपुस्तक पु¥याउन गाह्रो हुन्थ्यो । तर अहिले प्रायः सबैतिर बाटो विस्तार भइसकेका कारण वितरणमा त्यति समस्या छैन ।

० अन्त्यमा, आगामी अधिवेशनबाट नेतृत्वमा आउने नयाँ साथी तथा व्यवसायी साथीहरूलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त कात्तिक १८ गते हुन गइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, बाँके कार्यसमितिको १६औँ साधारण सभा तथा आठौँ अधिवेशनमा सपरिवार सहगागिताका लागि म सम्पूर्ण व्यवसायी साथीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु । हामीले हाम्रा अधिवेशनहरूलाई परिवारसहितको सहभागितामा पिकनिक मोडलको कार्यक्रमका रूपमा सम्पन्न गर्ने गरेका छौँ । त्यसैले परिवारसहित निमन्त्रणा गर्छौं । दोस्रो कुरा, म आगामी दिनमा नेतृत्वमा आउने साथीहरूलाई मेरो कार्यकालमा मैले सुरु गरेका तर पूरा गर्न नसकेका अधुरा कामहरूलाई निरन्तरता दिएर पूरा गर्नुहोला भन्ने आग्रह गर्न चाहन्छु ।
त्यस्तै, आगामी कार्यसमिति सानो र चुस्तदुरुस्त बनाउन पनि म उहाँहरूलाई आग्रह गर्दछु । ठूलो कार्यसमिति भयो भने काम गर्न झन् गाह्रो हुँदोरहेछ । यो मेरो अनुभवले सिकाएको कुरा हो । सबै कार्यसमिति सदस्य तथा अन्य व्यवसायी साथीहरूलाई आपसी सहयोग र सद्भावका साथ अगाडि बढ्न पनि म हार्दिक अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया