हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय जनसंख्या नीति २०८२ सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका सचिव डा. सुमित्रा गौतमको सभाध्यक्षतामा आयोजित एकदिवसीय कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री थापा मगरले अवसरको अभाव र स्वास्थ्य जटिलताका कारण अस्वभाविक रूपमा बसाइँसराइ बढिरहेको उल्लेख गर्दै प्रदेश–प्रदेशमै रोजगारी र विकासका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले यस विषयमा प्रदेश सरकारले चाँडै नीति सार्वजनिक गर्ने जानकारी दिए।
कार्यक्रमका अर्का वक्ता जिल्ला समन्वय समिति मकवानपुर तथा जिल्ला समन्वय महासंघ बागमती प्रदेश समितिका अध्यक्ष ललित बहादुर घलानले देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवाहरू वैदेशिक रोजगारका लागि पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गरे।
त्यस्तै, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नेपाली युवाहरूले विदेशमा राम्रो नाम र काम गरेर देशको पहिचान बढाएको बताउँदै दक्ष जनशक्ति ठूलो संख्यामा बाहिरिँदा देश विकासमा बाधा पुगेको उल्लेख गरिन्।
वक्ताहरूले अस्वभाविक बसाइँसराइ तथा दक्ष जनशक्ति पलायन रोक्न तत्काल प्रभावकारी नीति आवश्यक रहेकोमा जोड दिएका थिए।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको समन्वय र सहकार्यमा सम्पन्न कार्यक्रममा जनसंख्या महाशाखाका उपसचिव झविन्द्र प्रसाद पाण्डे र सहसचिव हेमराज सुवेदीले नेपालको जनसंख्या अवस्था तथा राष्ट्रिय जनसंख्या नीति २०८२ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।
आईओएम (युएन माइग्रेशन) को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका सचिव बाबुराम अधिकारीसहित विभिन्न मन्त्रालयका सचिव, स्थानीय तहका प्रतिनिधि, स्वास्थ्य निर्देशनालय, विश्वविद्यालय, नागरिक समाज तथा संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।














