मकवानपुर । नेपाल संवाद डटकम अनलाइन पत्रिका आइतबारबाट प्रकाशन शुभारम्भ गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट मध्यस्थता मिडिया प्रालिको प्रकाशनमा अनलाइन पत्रिकाको औपचारिक शुभारम्भ भएको हो ।

मध्यस्थता मिडियाका अध्यक्ष एवं नेपाल संवाद डटकमका सम्पादक शिव चौलागाईँले वेभ पोर्टल क्लिक गर्दै अनलाइन पत्रिकाको शुभारम्भ गरे । उनले समाचारलाई मात्र ब्रेक गर्ने होडबाजीमा नलागी तथ्यपरक, यथार्थपरक र विश्वासिला समाचार सम्प्रेषण गर्ने अनलाइन पत्रिकाको उद्घेश्य रहेको बताए । अहिले समाचारलाई ब्रेक गर्ने नाममा गलत सूचना समेत पस्किने होडबाडी चलेको भन्दै त्यसबाट आफ्नो टिम टाढा रहन प्रतिबद्ध रहेको सम्पादक चौलागाईँले जनाए । उनले स्थानीय स्तरका सरोकार, चासो र चिन्ताका विषयलाई प्राथमिकतामा राख्दै पत्रकारिता गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । समाजका तमाम बेथिती, विकृतिमाथि केवल प्रश्न गर्नेमात्र नभई ती समस्याको रचनात्मक समाधान खोज्न सघाउ पुर्‍याउँन पनि रचनात्मक भूमिकामा नेपाल संवादले पत्रकारिताको आफ्नो धर्म निर्वाह गर्ने उनको भनाई छ ।

देशको संविधान, कानून, पत्रकारिताको आचारसंहिता सबैलाई शीरमा राखेर समाधानमुखी पत्रकारितामा पाइला चाल्न आफ्नो उपस्थिती भएकाले सम्बन्धित सबै सरोकारवालासँग अनलाइन पत्रिकाले साथ, सहयोग तथा सहकार्यको अपेक्षा राखेको छ ।