हेटौंडा । हेटौंडा फुलकन्ट्याक क्योकुशिन करातेका ८ जना खेलाडीहरू भारतको आसामस्थित गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक कराते प्रतियोगिता मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूलाई मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयले संयुक्त रूपमा बिदाइ गरेको हो।

गुवाहाटी जाने टोलीमा रेफ्रीद्वय सीता श्रेष्ठ र अमृत सुनारसहित खेलाडीहरू रोहित थापा, रिदम थापा, ज्योति लुङ्बा, सबिना आले, रेश्मा थापा र शशिप्रसाद बि.क. रहेका छन्।

पुस २६ र २७ गते दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा हेटौंडाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

खेलाडीहरूलाई बिदाइ गर्दै वडा अध्यक्ष अनिल बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज मुक्तान, समितिका पूर्व अध्यक्ष सानु लामा, क्योकुशिन संघका जिल्ला अध्यक्ष बुद्धिनाथ न्यौपाने तथा मुख्य प्रशिक्षक विष्णु श्रेष्ठ लगायतले सफलताको शुभकामना दिएका थिए।