मकवानपुरका उद्योगी तथा व्यवसायीहरूको साझा संस्था, मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औँ वार्षिक साधारणसभा आयोजना गर्ने तयारी तीव्र बनाएको छ। संघको फागुन १५ गते बसेको कार्यसमिति बैठकले आगामी चैत्र २१ गते शनिबार पल्पसा सभाहलमा साधारणसभा गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी अघि बढिसकेको छ। साधारणसभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा हुने तय गरिएको छ भने विशिष्ट अतिथिका रूपमा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको उपस्थिति रहनेछ।

यसपटकको साधारणसभामा विधान संशोधनसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिने संघकी महासचिव प्रतिमा श्रेष्ठले जानकारी दिइन्।

यता, संघअन्तर्गतको कृषि प्रवर्द्धन समितिको पहलमा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी २०८२ समेत आयोजना हुने भएको छ। समिति संयोजक निलम पाण्डेका अनुसार प्रदर्शनीमा प्रदेशभरका किसानले उत्पादन गरेका कृषि उपज, रैथाने बाली साथै आधुनिक कृषि औजार तथा प्रविधिहरू प्रदर्शन गरिनेछ।

उक्त कृषि प्रदर्शनी चैत्र १३ देखि १६ गतेसम्म पल्पसा हलमै सञ्चालन हुने कार्यक्रम तय गरिएको छ।