काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ पाना शुक्रबार मध्यान्ह खुल्यो, जब बालेन्द्र शाह ले देशको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरे । ठ्याक्कै १२ः३४ बजे रामचन्द्र पौडेल समक्ष उनले पद तथा गोपनीयताको शपथ लिँदा शीतल तर गम्भीर वातावरणले सिंहदरबार क्षेत्र गुञ्जायमान बनेको थियो । शपथअघि सात जना ब्राह्मणले शंखनाद गरेका थिए, जसले परम्परागत शुभ संकेतको अनुभूति गरायो । त्यस्तै १०८ बटुकहरूले स्वस्तिवाचन गरेका थिए भने १६ भिक्षुहरूले अष्टमंगल पाठ गरेका थिए । परम्परा, आध्यात्मिकता र आधुनिक राजनीतिक परिवर्तनको अद्भुत संगमबीच भएको यो समारोह केवल औपचारिकता मात्र थिएन, यसले नयाँ युगको संकेत पनि बोकेको थियो ।
हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा १८२ सिटको स्पष्ट बहुमत प्राप्त गरेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम उनलाई सरकारको नेतृत्व सुम्पिएका हुन् । २०७२ सालमा नयाँ संविधान जारी भएयता यो प्रावधान प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलो घटना बनेको छ । यसअघि सबै सरकारहरू गठबन्धनको आधारमा गठन हुँदै आएका थिए । काठमाडौँ महानगरपालिकाको मेयरको जिम्मेवारी सम्हालिरहेका बालेन, जेनजी आन्दोलनपछि भएको निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रिय राजनीतिमा उदाए । उनको यो उदय केवल व्यक्तिगत सफलताको कथा होइन, नयाँ पुस्ताको राजनीतिक हस्तक्षेप र जनअपेक्षाको प्रतिविम्ब पनि हो ।
शपथसँगै नयाँ मन्त्रिपरिषद्ले पनि औपचारिकता पूरा गर्यो । राष्ट्रपतिले १५ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराए, जसमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, पर्यटन मन्त्री खडक पौडेल, शिक्षा मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता, सञ्चार मन्त्री विक्रम तिमल्सिना, संघीय मामिला मन्त्री प्रतिभा रावल, कानुन मन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी, श्रम मन्त्री दीपक साह र महिला बालबालिका मन्त्री सीता वादी रहेका छन् ।
यसैबीच, मन्त्रिपरिषद्को पहिलो बैठकले चार महत्वपूर्ण निर्णयहरू पनि गर्यो । निर्णयहरुमा गौरीबहादुर कार्की नेतृत्वको आयोगका सिफारिस कार्यान्वयन गर्ने, सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिने, शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने र शासन सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने रहेका छन् ।

शपथपछि दिउँसो २ः१५ बजे सिंहदरबारस्थित कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्यालसहित उच्च अधिकारीहरूले स्वागत गरे । पदभार ग्रहणलगत्तै उनले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिँदै परिणाममुखी काममा केन्द्रित हुन निर्देशन दिए । यता, गृहमन्त्री सुदन गुरुङले पनि पदबहालीपछि सेवा प्रवाहलाई सहज बनाउने र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने कडा सन्देश दिए । ‘कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।’ भन्दै उनले एकद्वार प्रणालीमार्फत छिटो सेवा प्रवाह सुनिश्चित गर्न कर्मचारीलाई निर्देशन दिए । जनतालाई परिणाम दिने प्रतिबद्धतासहित आएका उनले अनावश्यक झन्झट हटाउने र सुशासन स्थापना गर्ने उद्घोष गरे । साथै, जेनजी आन्दोलनको योगदान स्मरण गर्दै उनले सहिदहरूको सम्मानमा एक मिनेट मौन धारण गर्न लगाएका थिए ।
नवनियुक्त कानुन मन्त्री सोविता गौतमले पनि पदभार सम्हाल्दै कानुनी सुधारलाई प्राथमिकतामा राख्ने बताइन् । उनले मुलुकी अपराधसंहिता २०७४ लगायतका कानुनहरूमा आवश्यक संशोधनको अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गर्दै यौनजन्य हिंसा, बालबालिकासम्बन्धी अपराध र जघन्य कसूरमा संलग्न अपराधीलाई कडा सजाय सुनिश्चित गर्ने दिशामा काम गर्ने बताइन् । ‘विगतमा रोकिएका र सुधार गर्नुपर्ने कानुनहरूलाई अध्ययन गरेर अघि बढ्छौँ ।’ उनको भनाइ छ ।

















