मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा यही फागुन २९ मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सव हुँदैछ ।
हेटौँडा १० स्थित टिसिएनको चौरमा हुने महोत्सवको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि आयोजना गर्न लागिएको आयोजकको भनाई छ । उसका अनुसार जेन्जी आन्दोलनको क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिद एवम् खेलकुद क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको हो ।
‘दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारीलाई तीव्र पारिएको छ । अहिले महोत्सव स्थलको घेराबारासहित स्टल निर्माण, खेलकुद प्रतियोगिता आयोजनास्थलको मर्मत सम्भार लगायतका कार्य भैरहेको छ ।’,खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए। महोत्सवबाट बचेको रकमले मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिद गरिने उनको भनाई छ ।
महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ४ सयवटा व्यवसायिक स्टल रहने महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको अध्यक्ष मुक्तानले बताए ।
महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता, १० किलोमटिर महिला तथा पुरुष दौड प्रतियोगिता हुनेछ ।
महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन समेत हुने बताइएको छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति समेत रहने खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताए । खेलकुद महोत्सवमा खेल क्षेत्रका १० जनालाई जनही नगद २५ हजार रुपैयाँसहितम सम्मान समेत गर्ने आयोजकको तयारी रहेको छ । खेलकुद विकास समितिले यसअघि पनि महोत्सवको आयोजना गरेको थियो । महोत्सवबाट बचेको रकम खेलाडीको हितका लागि कोषमा राखिएको जनाइएको छ ।
















