फाइल तस्बिरः बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानिया लगायत ।

मकवानपुर । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेटको पुनरावलोकन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पुनरावलोकनको लागि अध्ययन गर्न स्वीकृति प्रदान गरेको जानकारी मन्त्रालयका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले दिए । मन्त्री तामाङका अनुसार वर्तमान अवस्थामा प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने प्रशासनिक पुर्नसंरचना र आर्थिक भार बढ्दो अवस्थामा रहेकोले बजेटको पुनरावलोकन अपरिहार्य भएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले यसका लागि अध्ययन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो, जसमा विभिन्न विभाग र निकायको खर्च, योजना कार्यान्वयन र वित्तीय व्यवस्थापनको समिक्षा गर्ने कुरा समेटिएको छ ।

निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले ल्याएको ६७ अर्ब ४७ करोडको बजेट सुरुवातदेखि नै विवादमा परेको थियो । बजेटमा भएको सम्भावित त्रुटी र व्यवस्थापनका कमजोरीको अध्ययन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई–दुई जना प्रतिनिधिबाट सर्वदलीय अध्ययन कार्यदल गठन गरिएको थियो । यसले बजेटमा भएका अनावश्यक खर्च, वित्तीय असमानता र प्रशासनिक संरचनासम्बन्धी कमजोरीको विश्लेषण गरिसकेको छ । अघिल्लो मन्त्रिपरिषद्ले १० लाख रुपैयाँ वा त्यसभन्दा माथिका योजना ठेक्का प्रक्रियामार्फत मात्रै कार्यान्वयन गर्ने निर्णय गरेको थियो, जसले बजेटको पारदर्शिता र खर्च नियन्त्रणमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

चालू आर्थिक वर्षको बजेटमा कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार विनियोजन गरिएको थियो, जसमा चालू खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगत खर्चतर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार छुट्याइएको थियो । अबको पुनरावलोकन प्रक्रियाबाट बजेटको खर्च कटौती, प्राथमिकता पुनर्निर्धारण, प्रशासनिक संरचनाको सुधार र योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रदेश सरकारले तयारी गरेको हो ।