मकवानपुर । सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व समापन भएको छ । छठ सूर्यदेवप्रति श्रद्धा र भक्तिपूर्वक आराधना गर्ने महत्वपूर्ण पर्व हो ।
भक्तजनले गाईको दूध, फूल र जलले सूर्यलाई अर्घ्य दिँदै नदी किनारमा बसेर पूजा आराधना गरेका थिए। बिहानै घाटमा हुने यो पूजालाई ‘भिन्सरघाट’ भनिन्छ, जसमा भक्तहरू कम्मरसम्म पानीमा डुबेर सूर्योदयको बेला सूर्य दर्शन गर्छन्।

धार्मिक विश्वासअनुसार पृथ्वीमा जीवनको सञ्चालन र संरक्षण जल र सूर्यबाट हुने भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोत मानी पूजा गरिन्छ। यस अवसरमा विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित युवतीहरूले सुयोग्य वर प्राप्तिको कामना गर्छन्, भने सन्तान प्राप्तिको आशासहित पनि धेरैले यो पर्व मनाउँछन्। भक्तजनहरूका अनुसार छठ व्रतले मनोकामना पूरा गर्छ भन्ने विश्वास छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व शनिबारदेखि सुरु भएको थियो। चतुर्थीका दिन स्नान गरी चोखो खानेदेखि व्रतको अन्त्यसम्म माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने नियम रहन्छ। आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न गरिएको हो।

हेटौँडाको रापतीतटमा पनि उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ स्थित रापती खोला किनारमा हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएको र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको समापन गरिएको हो ।