हेटौंडा–१० स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा तथा मकवानपुर जिल्ला भलिबल संघको सहकार्यमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा थाहा नगरपालिकास्थित मंगलेश्वर युवा क्लब र हेटौंडा–१५ को सफल केयर क्लबबीच प्रतिस्पर्धा भइरहेको आयोजक समितिका नरेन्द्र मोक्तानले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा मकवानपुर जिल्लाभरबाट ८ वटा टिम सहभागी छन्।
क्वार्टरफाइनलसम्मका खेल ‘बेष्ट अफ ३’ र सेमिफाइनलका खेल ‘बेष्ट अफ ५’ को आधारमा सञ्चालन गरिनेछ। प्रतियोगितामा थाहा–२ को मंगलेश्वर युवा क्लब, हेटौंडा–११ को छहारी युवा क्लब, मनहरी गाउँपालिका, हेटौंडा–९ को पशुपति युवा क्लब, बागमती गाउँपालिका–६ को नव प्रतिभा सांस्कृतिक युवा क्लब बज्रबाराही, हेटौंडा–१५ को सफल केयर क्लब, हेटौंडा–३ को मिलन युवा क्लब लगायतका टोली सहभागी छन्।
प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन्। सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही १५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
यसैगरी, प्रतियोगितामा सात विधाका उत्कृष्ट खेलाडीलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ।
महोत्सवअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिता भने चैत ४ गतेदेखि सुरु हुने बताइएको छ।




















