काठमाडौँ । विहीबार सिंहदरबार असामान्य रूपमा चहलपहलले भरिएको थियो। मध्याह्न १२ बज्नुअघि नै विभिन्न भेषभूषामा सजिएका नवनिर्वाचित सांसदहरू परिसर छिर्न थालेका थिए। कोही शेर्पा पहिरनमा, कोही नेवार शैलीमा, कोही तामाङ र लिम्बु संस्कृतिको झल्को बोकेर-जसले संसद् परिसरलाई एक प्रकारको सांस्कृतिक मञ्चमा रूपान्तरण गरिरहेको थियो।
तर यो केवल शपथको दिन मात्र थिएन, यो राजनीतिक पुस्तान्तरणको दिन थियो। पहिलोपटक निर्वाचित भएर आएका अनुहारहरूको बहुलता देखिन्थ्यो। नयाँ ऊर्जा, नयाँ उत्साह, र नयाँ अपेक्षाले भरिएको त्यो भीडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू विशेष आकर्षण बनेका थिए।
त्यसमध्ये रहबर अन्सारी त स्कुल ड्रेसमै शपथ लिन पुगेका थिए-यो दृश्यले परम्परागत राजनीतिमा आएको परिवर्तनलाई स्पष्ट संकेत गरिरहेको थियो। परिसरमा शुभेच्छुकहरूको भिड थियो, जो सांसदहरूसँग सेल्फी खिच्न आतुर देखिन्थे—कसैले गाडीमै, कसैले भवनभित्रै।
शपथ ग्रहण संसद भवन अस्थायी संरचनामा आयोजना गरिएको थियो। स्थायी संसद भवन निर्माणाधीन भएकाले अस्थायी बहुउद्देश्यीय हलमै २७४ सांसदले शपथ लिएका हुन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी (७८ वर्षीय) ले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। उनले एक दिनअघि नै रामचन्द्र पौडेल बाट शपथ लिएका थिए।
२०६४ सालदेखि बानेश्वरस्थित संसद भवनमा हुँदै आएको शपथ समारोह यसपटक भने नयाँ परिवेशमा सर्यो। गएको भदौमा भएको जेनजी आन्दोलनले पुरानो संसद भवन ध्वस्त बनाएपछि, नयाँ संरचना तयार नहुँदासम्म यही अस्थायी हल संसदको केन्द्र बन्ने भएको छ।
राजनीतिक दृश्यको केन्द्रमा थिए बालेन्द्र शाह । जो, भोलिपल्ट प्रधानमन्त्री बन्दैछन्। उनी कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ लगाएर दिउँसो २ बजे परिसर पुगे।
उच्च सुरक्षाबीच गाडी गेटसम्मै पुगेको थियो। उनी गाडीबाट ओर्लिए, केहीबेर हिँडे, र शान्त रूपमा सदनतर्फ लागे। सञ्चारमाध्यमसँग कुनै प्रतिक्रिया नदिइ उनी भित्र छिरे-जसले उनको उपस्थितिलाई अझ रहस्यमय बनायो।
उनको १० मिनेटपछि रवि लामिछाने पनि पुगे। निर्धारित समयभन्दा १० मिनेट ढिला आइपुगेपछि मात्रै शपथ कार्यक्रम सुरु गरियो। उनी पनि मौन रहँदै सदन छिरे।
यसपटक संसदको दृश्य फरक छ । पहिलेका चुनावहरूमा निरन्तर देखिने अनुहारहरू गायब छन् । शेरबहादुर देउवाले टिकट नै पाएनन्। गगन थापा सर्लाही–४ बाट पराजित भए। केपी शर्मा ओली पनि यसपटक पराजित भए-त्यो पनि बालेन्द्र शाहसँग।
पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, र नेपाल कम्युनिस्ट पार्टी यसपटक सानो आकारमा खुम्चिएका छन्।
शपथको क्रममा यी तीन दलका सांसदहरू एउटै बेन्चमा बसे। पहिलो लहरमा पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल, भिष्मराज आङ्देम्बे र मोहन आचार्य थिए।
एक समय एउटै मोर्चामा रहेका प्रचण्ड र बादल अहिले फरक राजनीतिक धारमा छन् -तर त्यो दिन उनीहरू एउटै बेन्चमा सँगै थिए, इतिहासको मौन संकेतझैं।
संसद् सचिवालयले रास्वपाका लागि तीनभन्दा बढी लहर छुट्याएको थियो। पहिलो लहरमा रवि, बालेन, डीपी अर्याल र स्वर्णीम वाग्ले बसे।
रास्वपा १८२ सदस्यीय शक्तिशाली दल बनेको छ-संसदमा दुई तिहाइ नजिक। स्वाभाविक रूपमा, सबैको नजर उनीहरूमै थियो।
अर्को बेन्चमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम तथा संस्कृति पार्टीका सांसदहरू बसे। पहिलो लहरमा ज्ञानबहादुर शाही र हर्क साम्पाङ देखिए।
निर्माणाधीन भवनका कारण साँघुरो हलमा शपथ गरियो। सञ्चारकर्मीलाई प्रवेश दिइएन।
शपथ सकिएपछि २ः२३ बजे बालेन बाहिरिए। कुनै प्रतिक्रिया दिएनन्। ढोकामै गाडी चढे र आफैं चलाएर हिँडे।
१० मिनेटपछि रवि लामिछाने पनि बाहिरिए ।
त्यसपछि रास्वपाले तुरुन्तै बैठक बोलायो र बालेनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्यो।
अब शुक्रबार बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको शपथ लिनेछन्।


















