मकवानपुर । मकवानपुरका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जनकराज उप्रेतीले पार्टी नेतृत्वलाई सम्बोधन गर्दै खुला पत्र सार्वजनिक गरेका छन्। उनले हालैको निर्वाचन परिणामलाई केवल हार मात्र नभई जनतामा बढ्दै गएको गहिरो निराशाको अभिव्यक्तिको रूपमा व्याख्या गरेका छन्।
खुला पत्रमा उनले वर्षौंदेखि साथ दिएका मतदाताले यसपटक स्पष्ट सन्देश दिएको उल्लेख गर्दै अब केवल नाम र इतिहासका आधारमा जनतालाई सन्तुष्ट बनाउन नसकिने बताएका छन्। उनले पार्टी र जनताबीचको सम्बन्धलाई ‘वियोगात्मक प्रेम सम्बन्ध’ सँग तुलना गर्दै लामो समयसम्म विश्वास र साथ रहे पनि निर्णायक क्षणमा जनताले ‘अब रोकौँ’ भन्ने निर्णय गरेको टिप्पणी गरेका छन्।
उप्रेतीले यसको अर्थ जनताले पार्टीप्रति माया गुमाएको होइन तर विश्वास कमजोर भएको संकेत भएको बताएका छन्। यस्तो अवस्थामा पार्टीले आत्मसमीक्षा गर्दै साहसी सुधारका कदम चाल्नुपर्ने उनको सुझाव छ।
खुला पत्रमार्फत उनले पार्टीभित्र संरचनागत र नेतृत्वगत सुधारका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन्। उनले वडा तहदेखि केन्द्रीय तहसम्मका सबै समितिहरू तथा भातृ संगठनहरू भंग गरी नयाँ संरचना निर्माण गर्नुपर्ने बताएका छन्। त्यसैगरी हाल निर्वाचित जनप्रतिनिधिहरूबाट सानो तर सक्षम अधिवेशन समिति गठन गरी पार्टीलाई १५ औँ महाधिवेशनतर्फ लैजानुपर्ने उनको भनाइ छ।
त्यस्तै उनले गुटबन्दी, भागबण्डा र व्यक्तिगत स्वार्थमा आधारित राजनीतिलाई अन्त्य गर्नुपर्ने, युवालाई केवल नारामा सीमित नराखी निर्णायक नेतृत्वमा ल्याउनुपर्ने तथा सिंहदरबार र पार्टी कार्यालयभन्दा बाहिर निस्केर जनताको घरदैलोमा फर्किनुपर्ने सुझाव दिएका छन्।
उप्रेतीले कांग्रेसको इतिहास गौरवपूर्ण भए पनि इतिहासको आधारमा मात्र भविष्य जित्न नसकिने उल्लेख गर्दै अहिले आत्मसमीक्षा र सुधारको साहस नगरे जनताको भरोसा अझ टाढा जाने खतरा रहेको चेतावनी दिएका छन्।
उनले हारलाई ढाकछोप गर्नेभन्दा सत्य स्वीकार गरेर नयाँ सुरुवात गर्ने समय आएको उल्लेख गरेका छन् ।
















