मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका रामबहादुर थोकरले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै जनसम्पर्क र भेटघाटलाई व्यापक अघि बढाइरहेका छन् । निर्वाचन नजिकिँदै जाँदा उनले गाउँटोल र बस्तीबस्ती पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई प्राथमिकतामा राखेका छन् ।
थोकरले बुधबार मनहरी गाउँपालिका वडा नम्बर ६, लोथर, नयाँबस्ती, राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को सरिखेत तथा राक्सिराङ वडा नम्बर ५ को कुत्तसिङलगायत विभिन्न स्थानमा पुगेर स्थानीयवासीसँग भेटघाट र छलफल गरे । घरआँगनमै पुगेर मतदातासँग कुराकानी गर्दै उनले उनीहरूको दैनिक जीवनका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिएका छन् भने प्राप्त सुझावलाई आगामी दिनमा आफ्नो राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा आफूलाई मत दिन आग्रह गर्दै उम्मेदवार थोकरले आफूले प्राप्त गर्ने प्रत्येक मतको सधैँ सम्मान गर्ने बताए । आफू जहिल्यै जनताको मुद्धा बोकेर अघि बढ्ने संकल्पसहित लागिपरेको थोकरले स्पष्ट पारे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी विगतदेखि नै देशमा संवैधानिक राजसंस्था स्थापनाका लागि निरन्तर लागिपरेको राजनीतिक शक्ति भएको उल्लेख गर्दै अहिलेको परिस्थितिमा राप्रपा नै मुलुकको वास्तविक वैकल्पिक शक्ति भएको दाबी गरे । उनले देशमा कांग्रेस, कम्युनिष्ट तथा नयाँ राजनीतिक दलहरू सबै गणतन्त्रको पक्षमा उभिएकाले त्यसको विकल्पका रूपमा राप्रपा अघि आएको र आफूहरू राष्ट्र, राष्ट्रियता र परम्परागत मूल्यमान्यताको संरक्षणमा दृढ रहेको घरदैलो तथा भेटघाटका क्रममा मतदातामाझ बताएका छन् ।

उम्मेदवारी दर्ता गरेपछि मतदाताको नजिक पुग्ने, उनीहरूको आवाज प्रत्यक्ष रूपमा सुन्ने र जनताका पक्षमा आफूले खेल्नुपर्ने भूमिका इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित आफू चुनावी अभियानमा जुटेको थोकरको भनाई छ । दैनिकजसो गाउँ–टोल र बस्तीमा पुगेर मतदाताको घरआँगनमै समय बिताउँदै उनीहरूको कुरा सुन्ने, ती विषयमा गम्भीर रूपमा मनन गर्ने र भोलिका दिनमा सम्भव भएसम्म कार्यान्वयनका लागि प्रतिबद्धता जनाउने कार्यमा अभियान केन्द्रित रहेको उनको प्रचार–प्रसारमा संलग्न संगीन श्रेष्ठले जानकारी दिए ।
चुनावी अभियानअन्तर्गत उम्मेदवार थोकरले हेटौँडा, मकवानपुरगढी, थाहा नगरपालिका र मनहरीलगायत क्षेत्रका विभिन्न स्थानमा घरदैलो गरेका छन् । उनले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सामरी, वडा नम्बर ७ सुकौरा, थाहा नगरपालिका वडा नम्बर २ पालुङ, वडा नम्बर ७ देउरालीभञ्ज्याङ, वडा नम्बर ११ टिष्टुङ तथा नौखण्डे क्षेत्रका विभिन्न बस्तीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका थिए । यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९, मनहरी गाउँपालिका वडा नम्बर ९ का विभिन्न स्थानमा पनि उनले घरदैलो अभियानमा सहभागिता जनाइसकेका छन् ।
भेटघाटका क्रममा उनले राष्ट्र, राष्ट्रियता र राजसंस्थाको संरक्षणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मत दिन आग्रह गर्दै आएका छन् । राष्ट्रियताको जगेर्ना र संरक्षणका लागि राप्रपालाई विजयी गराउन आवश्यक रहेकोमा जोड दिँदै उनले मतदाताको घरआँगनमै पुगेर समर्थनको अपिल गरिरहेका छन् । उनका अनुसार घरदैलो कार्यक्रम केवल प्रचारको माध्यम मात्र नभई जनताको आवाज प्रत्यक्ष रूपमा बुझ्ने, उनीहरूको समस्या नजिकबाट जान्ने र त्यसअनुसार नीति तथा कार्यक्रम तय गर्ने महत्वपूर्ण अवसर हो ।
लामो समयदेखि राजनीतिक यात्रामा सक्रिय रहेका थोकरले विभिन्न उतारचढावपूर्ण अनुभव सँगालेका छन् । यही अनुभवका आधारमा उनले मकवानपुर क्षेत्र नम्बर २ का मतदातामाझ आफूलाई जिम्मेवार, परिपक्व र जनउत्तरदायी उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् ।

यसैबीच, उम्मेदवार थोकरले बुधबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६, सुनाचुरी, खयरघारी निवासी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सक्रिय सदस्य प्रेमकुमार जोशीका भाइकी छोरी सुशीला थापा मगरको असामयिक निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।















