मकवानपुर। मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई देशकै चौथो बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह २०७८ चैत १२ मा घोषणा गरियो । यो घोषणाले यहाँका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन पालिका र सरोकारवालाहरुलाई थप जिम्मेवार र प्रतिबद्ध बनाएको छ । ‘बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान’ भन्ने नारासहित अग्रसर पालिकाले बालअधिकार, शिक्षा र सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै बालबालिकाको चौतर्फी विकासका लागि आफ्ना अभियानलाई तिब्रता दिइरहेको छ ।

बालमैत्री घोषणा
मकवानपुरगढी गाउँपालिकाले बालमैत्री स्थानीय शासनको अवधारणालाई आत्मसात् गर्दै २०७८ मा बालमैत्री गाउँपालिका घोषणा गर्‍यो । बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८ अनुसार ५१ वटा सूचकमा काम गरेको मकवानपुरगढीलाई यो घोषणा एउटा औपचारिकता मात्र होइन की यसबाट समग्र बालबालिकाको हकअधिकार सुनिश्चित गर्ने अभियान आरम्भ भएको रुपमा लिइन्छ । पालिकाको यस कदमबाट बालबालिकाहरुको समग्र विकासका लागि ठोस कदम चाल्न निकै सहजता भएको छ । यस घोषणापछि बालमैत्री अभियानलाई सार्थकता प्रदान गर्दै यसलाई दिगोपनाका लागि पालिकाको महिला तथा बालबालिका शाखाले बालबालिकाको सर्वोतम हितमा ध्यान दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
पालिकास्तरिय बालअधिकार समितिका संयोजक समेत रहेकी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीन आफूहरु बालबालिकालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयनमा जोड दिँदै अघि बढेको बताउँछिन् । भन्छिन् ‘यहाँका हरेक बालबालिकाले सुरक्षित, शिक्षित र सुनौलो भविष्य निर्माण गर्न सकून भन्नेमा ध्यान दिँदै हामी अघि बढिरहेका छौँ ।’ उपाध्यक्षको नेतृत्वमा रहने पालिकास्तरीय बालअधिकार समितिमा विभिन्न सरोकारवालाहरूको प्रतिनिधित्व छ । पाख्रीनका अनुसार यो समितिका कारण पालिकाले बालबालिकासँग सम्बन्धित विभिन्न कार्य गर्नका लागि आवश्यक नीतिगत निर्णय र त्यसको कार्यान्वयनमा सहजता भएको छ ।

नेतृत्व विकासमा बालक्लब
बालबालिकाको हकहितका लागि उनीहरुद्वारा नै खोलिएका संस्थाका रुपमा रहने बाल क्लब पालिकाका ८ वटै वडामा रहेका छन् । प्रत्येक वडा र विद्यालयमा गठित बालक्लबहरूले बालबालिकालाई आफ्ना कुरा राख्ने र नेतृत्व विकास गर्ने मञ्च प्रदान गरेका छन् । यी क्लबहरूले बालअधिकार समितिमा समेत प्रतिनिधित्व गर्छन्, जसले बालबालिकाका सवाललाई नीतिगत तहमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको छ ।
‘बालक्लब सञ्जालले हामीलाई बालबालिकाका समस्यालाई नजिकबाट बुझ्न र समाधान गर्न सजिलो बनाएको छ ।’ उपाध्यक्ष पाख्रीन भन्छिन् । यी क्लबहरूले बालबालिकालाई नेतृत्व, संवाद र सामुदायिक सहभागिताको अवसर प्रदान गर्नुका साथै उनीहरूमा आत्मविश्वास र जिम्मेवारीको भावना विकास गरिरहेका छन् ।

बालमैत्री नीति र योजना
मकवानपुरगढीले बालमैत्री स्थानीय शासनको दिगोपनका लागि दीर्घकालीन रणनीति अपनाएको छ । पालिकाले पञ्चवर्षीय रणनीतिक योजना र वडास्तरमा तीनवर्षीय योजनाहरू लागू गरेको छ । यी योजनाहरूले बालश्रम, बालविवाह र बालहिंसालाई पूर्णरूपमा निषेध गर्न विभिन्न अभियानहरू सञ्चालन गरिरहेका छन् ।
महिला तथा बालबालिका शाखाकी प्रमुख सावित्री कुमारी सापकोटाका अनुसार बालविवाह रोक्न र बालश्रम न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक अभियानहरू सञ्चालन भएका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ मा वडा नम्बर २, ४, र ८ मा तीनवटा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएका छन् । यस्ता अभियानको प्रभावका कारण ६ वटा बालविवाह रोक्न सफल भएको सापकोटाको भनाई छ । ‘हामीले सञ्चालन गरेका विभिन्न अभियानको प्रतिफल बालविवाह रोकिएका छन् ।’ उनी भन्छिन्,‘हामी हाम्रा अभियानमार्फत सफल हुँदै गएका छौँ भन्ने यी र यस्तै उदाहरण रहेका छन् ।’ बालमैत्री नीति अनुसार विभिन्न योजना बनाई आफूहरु पालिकाको सबै वडाहरुमा पुगिरहेको बताउँदै उनी विभिन्न अभियानहरूमा स्थानीय सरोकारवालाहरू, विद्यालय र समुदायको सक्रिय सहभागिता रहने गरेको बताउँछिन् ।
यस्तै, घर, विद्यालय र समुदायमा बालमैत्री व्यवहारलाई प्रोत्साहन गर्ने नीति अपनाउँदै सो कार्यान्वयनको दिशामा पालिका अघि बढिरहेको छ । पालिकाक्षेत्रमा निर्माण हुने सबै खालका भौतिक संरचनाहरुलाई बालमैत्री मापदण्ड अनुसार गरिन्छ । स्कूल, सामुदायिक भवनदेखि खेलमैदानलगायत सबै संरचनालाई बालमैत्री मापदण्ड अनुसार निर्माण गर्न पालिकाले जोड दिँदै आएको छ । यो नीतिले बालबालिकालाई सुरक्षित र सहज वातावरण प्रदान गर्ने अपेक्षा राखिएको छ ।

बालबालिकाको शिक्षामा जोड

मकवानपुरगढीमा ३७ वटा विद्यालय छन्, जसमा १० वटा माध्यमिक, २२ वटा प्राथमिक र ६ वटा आधारभूत विद्यालय छन् । यी विद्यालयहरूमा ४,४४३ जना विद्यार्थी अध्ययनरत रहेको गाउँपालिकाको रेर्कडमा छ । शिक्षाक्षेत्रबाट आएका गाउँपालिकाका अध्यक्ष दोर्जे लामा कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नहुने भन्ने मान्यता राख्छन् । यसैले पनि उनी शिक्षालाई विशेष ध्यान दिएर अघि बढ्ने बताउँछन् । ‘हाम्रो गाउँपालिकामा कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनुहुँदैन, हामीले शिक्षालाई प्राथमिकतामा राखेका छौँ ।’ अध्यक्ष स्याङ्तान भन्छन्, ‘अहिले बालबालिका शिक्षाबाट बञ्चित हुन पुगे भने उनीहरुको भविष्य नै अन्धकार हुन जान्छ ।’
बालबालिकालाई गुणस्तरिय शिक्षा पाउने अवसर सृजनाका लागि विद्यालयहरूमा शैक्षिक गुणस्तर वृद्धि तथा शिक्षकहरूलाई तालिमका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ । साथै, बाबुआमाविहीन बालबालिकालाई सहयोग गर्न पालिकाले मासिक २,००० रुपैयाँका दरले ६ जना बालबालिकालाई आर्थिक सहायता प्रदान गरेको छ । यो सहयोगले उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न र शिक्षामा निरन्तरता दिन सहयोग पुगेको बताइन्छ ।

बालबालिकाको रेडियो कार्यक्रम
मकवानपुरगढीले बालबालिकालाई उनीहरूको क्षमता र नेतृत्व विकास गर्न प्रेरित गर्ने उद्धेश्यले स्थानीय रेडियो मकवानपुरगढी एफएममा ‘बालबालिका रेडियो कार्यक्रम’ सञ्चालन गरेको छ । रेडियो कार्यक्रम बालबालिकाद्वारा नै सञ्चालित छ । यसले बालबालिकालाई आफ्ना विचार र अनुभवहरू आफूजस्तै साथीभाईलाई सुनाउन मौका मिलेको छ भने सरोकारवालासमक्ष आफ्ना सवाल पुर्‍याउँने पुलको काम पनि गरेको छ।यो रेडियो कार्यक्रम बालिका पवित्रा विश्वकर्माले सञ्चालन गर्छिन । रेडियोमा बोल्ने अवसर पाएकोमा उनी खुशी व्यक्त गर्छिन् । ‘आफ्ना साथीहरुका लागि कार्यक्रम सञ्चालन गर्ने भएकाले उनीहरुको प्रतिभा रेडियोमार्फत उजागर भएको छ ।’ उनी भन्छिन्,‘रेडियोमा कसरी कार्यक्रम निर्माण गरिन्छ र कसरी प्रशारण हुन्छ भन्ने विगतका जिज्ञासा अहिले आएर समाधान भएको छ ।’
रेडियोका स्टेशन म्यानेजर एमपी शर्मा पौडेलका अनुसार रेडियो कार्यक्रमले बालबालिकालाई आफ्ना कुरा राख्ने अवसर मिल्नुका साथै उनीहरूमा आत्मविश्वास र नेतृत्वको विकासमा टेवा पुगिरहेको छ । ‘बालबालिकाका लागि बालबालिका आफैँले चलाउने रेडियो कार्यक्रमले स्थानीय समुदायमा बालअधिकार र बालमैत्री अवधारणालाई थप प्रभावकारी बनाएको छ ।’ पौडेल भन्छन् ।

चुनौती र समाधान
मकवानपुरगढीले बालमैत्री गाउँपालिका बनाउने यात्रामा केही चुनौतीहरू पनि सामना गर्नुपर्ने अवस्था छ । पालिकाका केही वडा शहरबाट नजिक विकासको गति पक्रने सुरुवाती चरणमा छन् भने केही वडा ग्रामीण र विकट क्षेत्रमा छन् । यसैले यहाँ सामाजिक र सांस्कृतिक मान्यताहरूका कारण बालविवाह र बालश्रमका घटनाहरू पूर्णरूपमा न्यूनीकरण गर्न समस्याहरु आउँने गरेका छन् । तर, गाउँपालिकाले यस्ता चुनौतीहरूलाई सम्बोधन गर्न विभिन्न संघसंस्थासँग सहकार्य र समन्वय गर्दै आएको छ ।
पालिकाले विभिन्न गैरसरकारी संस्थाहरूसँग मिलेर बालअधिकार उल्लङ्घनविरुद्ध चेतनामुलक अभियानहरु सञ्चालन गर्दै आएको छ । सचेतनामूलक अभियानहरुले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ । साथै, बालक्लब सञ्जाल र वडास्तरीय बालअधिकार समितिहरूले यस्ता मुद्दाहरूलाई स्थानीय तहमा समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् ।

आगामी योजना
गाउँपालिकाले बालमैत्री स्थानीय शासनको अवधारणालाई दिगो बनाउन र बालबालिकाको समग्र विकासमा थप प्रगति गर्न आफ्ना नीति तथा कार्यक्रममा योजनाहरु समेट्ने गरेको छ । आगामी दिनमा बालश्रम र बालविवाहलाई पूर्णरूपमा उन्मूलन गर्न, शिक्षाको पहुँच र गुणस्तर वृद्धि गर्न र बालबालिकालाई नेतृत्व विकासका अवसरहरू प्रदान गर्न थप कार्यक्रमहरू सञ्चालन गर्ने पालिकाका उपाध्यक्ष पाख्रीन बताउँछिन् । ‘हाम्रो सपना भनेको मकवानपुरगढीलाई बालबालिकाको सर्वोतम् हित गर्ने पालिकाको रुपमा निरन्तर अगाडि बढाउनु हो ।’ उनी भन्छिन्, ‘गर्भदेखि बालक रहुन्जेलसम्म उनीहरुले उपभोग गर्न पाउने अधिकारहरू प्रदान गर्दै पालिकालाई बालमैत्री अभियानमा अब्बल बनाउँने हाम्रो सपना छ ।’ बालबालिकाको आधारभूत आवश्यकताहरू माया, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर प्रदान गर्दै बालमैत्री यात्रामा पालिकालाई हिडाइ रहन आवश्यक पर्ने सबै अभियानहरुमा कहिल्यै नचुक्ने उनको दृढ विश्वास पनि छ । हुन पनि यहाँ बालक्लब सञ्जाल, रेडियो कार्यक्रम र सचेतनामूलक अभियानहरूले बालमैत्री स्थानीय शासनको मर्मलाई कायम राख्न प्रभावकारी भूमिका खेलेका छन् । बालबालिकाको आवाजलाई प्रभावकारी बनाउँन सरोकारवालाहरु पनि एकमत र एकजुट हुने गरेका छन् । पालिका तथा यससँग सम्बन्धित सरोकारवालाहरुको भूमिकाका कारण बालबालिकाहरु आफ्नो हकअधिकार सुनिश्चित हुन सकेकोमा आपसमा खुशी व्यक्त गर्छन् । गाउँपालिकाको नेतृत्व,स्थानीय समुदाय र सरोकारवालाहरूको सहकार्यले बालबालिकाको उज्ज्वल भविष्यको लागि सघाउ पुगिरहेकाले यसलाई सदैव कायम राखी अगाडी बढ्ने पालिका अध्यक्ष स्याङ्तान बताउँछन् ।