मकवानपुर । बागमती प्रदेशसभा सचिवालायमा आफ्ना पार्टीका सांसद पदमुक्त भएको भन्दै दर्ता गरिएको पत्र वैधानिक नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले जनाएको छ ।
राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले प्रदेशसभा सभामुखसमक्ष पत्र पठाउँदै प्रदेश सभामा पठाईएको भनिएको पत्र पार्टी विधान र संसदीय दलको नियमावलीविपरीत रहेको दाबी गरेका छन् ।
अध्यक्ष थापाले प्रदेशसभा सचिवालयमा दर्ता भएको पत्रबारे सञ्चारमाध्यममार्फत जानकारी पाइएको भन्दै २०८३ भदौ ४ गतेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक नबसेकाले समितिबाट निर्णय भएको भन्ने व्यहोरा नै असत्य रहेको दाबी गरेका छन् । उनले राप्रपाको विधानको धारा ३० (ड) ले अनुशासनात्मक कारबाहीको अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई मात्र दिएको उल्लेख गर्दै अन्य कुनै निकाय वा व्यक्तिलाई त्यस्तो अधिकार नरहेको पत्रमा उल्लेख गरेका छन् ।
सांसदहरूले पार्टी हितविपरीत काम गरेको दाबी गरिए पनि संसदीय दलको अभिलेखमा कुनै सांसदले त्यस्तो हिप उल्लंघन गरेको पुष्टि नभएको अध्यक्ष थापाको भनाई छ ।
पार्टीभित्रको आन्तरिक विवाद विधान र विधि अनुसार निरूपण हुने भन्दै पार्टी विधान तथा संसदीय दलको नियमावली विपरीत एकपक्षीय रूपमा पठाइएको पत्रलाई कानुनी मान्यता नदिन सभामुखसमक्ष आग्रह गरिएको पत्र आफूहरुलाई प्राप्त भएको प्रदेशसभा सचिवालयका कानुन उपसचिव प्रकाश चापागाईँले जानकारी दिए ।













