मकवानपुर । गणेश हिमालको काखमा अवस्थित रुबी भ्याली प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र दुर्लभ खनिज स्रोतले सम्पन्न क्षेत्र हो । तर यही भूगोलभित्र विकास, अवसर र आधारभूत सेवाबाट अझै टाढा रहेका बस्तीहरुको कथा पनि लुकेको छ । हिमाल, पाटन, जंगल र हिमशृङ्खलाको अनुपम दृश्यले पर्यटकलाई मोहित बनाउने रुबी भ्यालीले सामाजिक तथा आर्थिक रुपान्तरणको प्रतीक्षा भने अझै गरिरहेको छ ।
धादिङ जिल्लाको उत्तरी क्षेत्रमा चीनसँग सीमा जोडिएको रुबी भ्याली गाउँपालिका साविकका लापा, तिप्लिङ र सेर्तुङ गाविस मिलेर बनेको हो । करिब ४०१.८५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो पालिका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाका दृष्टिले बागमती प्रदेशकै महत्वपूर्ण गन्तव्यका रुपमा हेरिन्छ । डिभिजनल वन अधिकृत एवं प्रथम बागमती पर्यासाहित्यिक महोत्सवका संयोजक विष्णुप्रसाद आचार्यले रुबी भ्यालीलाई आफ्नो प्रकाशित एक लेखमा ‘संसारले अझै पूर्ण रुपमा खोज्न बाँकी रहेको गन्तव्य’ को संज्ञा दिएका छन् । उनका अनुसार रुबी भ्याली केवल एउटा उपत्यका होइन, हिमाली प्रकृति, संस्कृति र साहसिक यात्राको संगमस्थल हो ।
प्रकृति र सम्भावनाले भरिएको भूगोल
रुबी भ्यालीको नाम नै बहुमूल्य रत्न ‘रुबी’ बाट रहन गएको मानिन्छ । स्थानीयका अनुसार विगतमा यहाँ रुबी प्रशस्त पाइन्थ्यो । तर अव्यवस्थित उत्खनन र चोरी निकासीका कारण यसको लाभ स्थानीय समुदाय वा राज्य दुवैले अपेक्षाअनुसार प्राप्त गर्न सकेनन् । रुबीसँगै फलाम, जस्ता र सिसाका खानी पनि कुनै समय सञ्चालनमा रहे पनि अहिले अधिकांश बन्द अवस्थामा छन् ।
खनिज सम्पदाभन्दा पनि यस क्षेत्रको वास्तविक सम्पत्ति यसको जैविक विविधता हो । ठिङ्गेसल्लाको जंगल, विभिन्न प्रजातिका लालीगुराँस, उच्च हिमाली पाटन र दुर्लभ वन्यजन्तुहरुले रुबी भ्यालीलाई प्राकृतिक अध्ययनको जीवित प्रयोगशाला बनाएका छन् । यहाँ झारल, नाउर, कस्तुरी मृग, रेडपाण्डा, डाँफे, चितुवा तथा हिमचितुवा जस्ता लोपोन्मुख वन्यजन्तु पाइन्छन् ।
उच्च हिमाली पाटनमा चरिरहेका चौंरीका बथान, भेडीगोठ र रंगीन बुकीले सजिएका डाँडाहरुले यात्रुलाई अनुपम आनन्द दिन्छन् । पाङ्साङ पासबाट देखिने धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, पाल्दोर, लाङटाङ लगायतका हिमशृङ्खलाले यस क्षेत्रलाई पदयात्राका लागि विशेष बनाएको छ ।
संस्कृति, परम्परा र पहिचान
रुबी भ्याली तामाङ संस्कृति अध्ययनका लागि पनि महत्वपूर्ण क्षेत्र हो । तिप्लिङ, सेर्तुङ, बोराङ, लापा, चालिसे, हिम्दुङ, पुरु र लिङ्जो लगायतका बस्तीहरुमा तामाङ तथा घले समुदायको बाक्लो बसोबास छ । यहाँका गुम्बा, माने, धार्मिक स्थल, म्हेन्दोमाया, घोडा नाच, झाँक्री नाच, महाङ्काल जात्रा लगायतका सांस्कृतिक अभ्यासले यस क्षेत्रको विशिष्ट पहिचान निर्माण गरेका छन् ।
स्थानीय जीवनशैली अझै पशुपालन र कृषि प्रणालीसँग गहिरो रुपमा जोडिएको छ । दुर्गम भूगोलका बीच पनि खेतबारीमा देखिने चक्रीय खेती, आलु, फापर, जौ तथा अन्य बालीले यहाँको कृषिजन्य सम्भावनालाई संकेत गर्छ ।
पदयात्राको आकर्षक गन्तव्य
रुबी भ्याली पछिल्ला वर्षहरुमा पदयात्रा प्रेमीहरुको रोजाइमा पर्न थालेको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी हुँदै गत्लाङ, सोमदाङ, पाङ्साङ पास, तिप्लिङ र सेर्तुङसम्मको पदमार्ग तुलनात्मक रूपमा सहज मानिन्छ ।
गत्लाङको ‘ब्ल्याक भिलेज’, पार्वती कुण्ड, चिलिमे क्षेत्र, सोमदाङको पुरानो खानी क्षेत्र, पाङ्साङ पासको हिमाली दृश्य तथा तिप्लिङ र सेर्तुङका तामाङ बस्तीहरु यात्राका प्रमुख आकर्षण हुन् । करिब तीनदेखि चार दिनको समय भएमा पनि यो यात्रा पूरा गर्न सकिने भएकाले यो राजधानी नजिकको किफायती हिमाली गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ ।
आचार्यले रुबी भ्यालीलाई बागमती प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्रका रुपमा उल्लेख गरेका छन् । उनका अनुसार प्रचारप्रसार, पूर्वाधार विकास र एकीकृत पर्यटन व्यवस्थापनमार्फत यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको गन्तव्यमा रुपान्तरण गर्न सकिन्छ ।
सौन्दर्यभित्र लुकेको सामाजिक यथार्थ
तर, रुबी भ्यालीको अर्को अनुहार पनि छ । अमेरिकास्थित एरिजोना विश्वविद्यालयमा विद्यावारिधि शोधरत राजेन्द्र सेन्चुरीले गरेको स्थलगत अध्ययनले यहाँका दलित समुदायको कठिन यथार्थ उजागर गरेको छ ।
उनका अनुसार रुबी भ्यालीका केही दलित बस्तीहरु अझै आधारभूत अधिकार र सेवाबाट वञ्चित छन् । अध्ययनका क्रममा आयोजित एक अन्तरक्रियामा स्थानीय सहभागीले भनेका थिए, ‘घाम लागेर पनि ताप आएन, जून लागेर पनि उज्यालो भएन ।’ यो अभिव्यक्तिले विकासका योजनाहरु पुगे पनि त्यसको अनुभूति समुदायसम्म पुग्न नसकेको अवस्थालाई संकेत गर्छ ।
झन्डै ११ हजार जनसंख्या रहेको पालिकामा दलित समुदायका केही बस्ती अझै भूमिहीनताको समस्यासँग जुधिरहेका छन् । पुस्तौँदेखि बसोबास गर्दै आएका परिवारसँग जग्गाधनी प्रमाणपत्र छैन । कतिपय स्थानमा चिहानका लागि समेत पर्याप्त भूमि अभाव रहेको स्थानीयले बताएका छन् । दलित समुदायको मुख्य पेशा अझै आरन व्यवसाय नै रहेको छ । आधुनिक प्रविधि व्यापक रुपमा प्रयोग हुन थाले पनि केही बस्तीमा परम्परागत खलाँतीकै सहायताले फलाम तताइने अवस्था कायम छ ।
त्यसैगरी कतिपय क्षेत्रमा बालीघरे प्रथाको अवशेष अझै देखिन्छ । श्रमको उचित मूल्यभन्दा परम्परागत अनाज आधारित भुक्तानी प्रणालीमा आधारित यो अभ्यास सामाजिक रुपान्तरणको चुनौतीका रुपमा रहेको अध्ययनले देखाएको छ ।
शिक्षाको पहुँच विस्तार भए पनि किशोरावस्थामै विवाह हुने प्रवृत्ति केही बस्तीमा अझै देखिन्छ । यसले बालिकाहरुको शिक्षा निरन्तरतामा असर पुर्याइरहेको स्थानीय अनुभवले देखाएको छ ।
विकास र समावेशीकरणको आवश्यकता
मानव विकास सुचाङ्कमा पछाडि परेको रुबी भ्यालीमा सडक सञ्जाल विस्तार हुँदै गएको छ । बागमती प्रदेश सरकारले नै रुभि भ्यालीसम्म सडक पहुँच विस्तार गर्न अघिल्लो कार्यकालबाट नै काम गरिरहेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रुभि भ्यालीलाई एकीकृत पूर्वाधार विकास कार्यक्रमको लागि बजेट बिनियोजन गरेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले जानकारी दिए ।
तिप्लिङ, सेर्तुङ र लाब्दुङसम्म सडक पुगेपछि आवागमन सहज बनेको छ । तथापि स्वास्थ्य, शिक्षा, रोजगार, भूमि व्यवस्थापन तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने देखिन्छ ।
सेन्चुरीले आफ्नो अध्ययनमा स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीचको सहकार्यलाई विकासको प्रमुख आधारका रुपमा उल्लेख गरेका छन् । उनका अनुसार योजना निर्माणदेखि कार्यान्वयनसम्म समुदायको सक्रिय सहभागिता सुनिश्चित नगरेसम्म समावेशी विकास सम्भव हुँदैन ।
रुबी भ्यालीको कथा केवल एउटा हिमाली पर्यटन गन्तव्यको कथा होइन । यो सम्भावना र चुनौती सँगसँगै बोकिरहेको भूगोलको कथा हो । एकातिर हिमाल, पाटन, जंगल, संस्कृति र जैविक विविधताको अनुपम सम्पदा छ भने अर्कोतिर विकासको पहुँचको प्रतीक्षामा रहेका समुदायहरु छन् । हिमालको काखमा अवस्थित यो भूगोल आज पनि आगन्तुकलाई स्वागत गर्न आतुर छ ।
गाउँपालिकाले देखेको भविष्य
गाउँपालिकाको अधिकांश जनसंख्या कृषि र पशुपालनमा निर्भर भए पनि हालसम्म खेती मुख्यतः निर्वाहमुखी स्वरुपमै सीमित छ । तर यहाँ नगदे तरकारी, फलफूल, जडीबुटी तथा पशुजन्य उत्पादन विस्तार गर्ने प्रशस्त सम्भावना रहेको स्थानीय सरकारको तथ्यांकले देखाउँछ । आधुनिक कृषि प्रविधि, गुणस्तरीय बीउबिजन, मलखाद तथा कृषि ऋणमा सहज पहुँच विस्तार गर्न सके कृषि उत्पादन र किसानको आम्दानी दुवैमा उल्लेख्य वृद्धि हुन सक्ने अवस्था छ ।
रुबी भ्यालीमा रहेका प्राकृतिक नदी, खोलानाला, हिमाली जलस्रोत तथा साना पोखरीहरुको उपयोग गरी माछापालन व्यवसाय विस्तार गर्ने सम्भावना पनि उत्तिकै देखिन्छ । सामुदायिक वनमार्फत गैरकाष्ठ वन पैदावारको उत्पादन र बजारीकरण, जडीबुटीजन्य उद्यम तथा वनमा आधारित आयआर्जनका कार्यक्रमले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सक्छन् ।
सीपयुक्त जनशक्तिको अभाव, उद्यमशीलताको कमी, सीमित पूर्वाधार तथा लगानीको समस्या अहिले पनि चुनौतीका रुपमा रहेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए । स्थानीय युवालाई सीपमूलक तालिम, उद्यम विकास कार्यक्रम तथा आधुनिक प्रविधिसँग जोड्न सके स्वरोजगार र उत्पादनशील रोजगारीका अवसर विस्तार हुने तामाङ बताउँछन् ।
स्थानीय स्रोत, साधन र प्राकृतिक सम्पदाको दिगो उपयोगमार्फत रुबी भ्यालीलाई पर्यटन, कृषि र वातावरणमैत्री उद्यमको केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना प्रचुर रहेको उनीको विश्वास छ ।
‘कालो दह, सेतो दह’ जाने पदमार्ग बन्यो
रुवीभ्यालीको पर्यटन विकासका लागि महत्वपूर्ण उपलब्धि मानिएको ‘कालो दह र सेतो दह’ पुग्ने पदमार्ग हालसालै निर्माण भएको छ ।
स्थानीय पथपदर्शक मार्कुस तामाङका अनुसार रुवीभ्याली गाउँपालिकाकै आकर्षक पदमार्ग तथा पर्यटकीय गन्तव्य ‘कालो दह र सेतो दह’ हुँदै नेपाल–चीन सिमाना नजिकको हर्ची पाससम्मको पदमार्ग निर्माण भएको छ । रुवीभ्याली गाउँपालिका–१ लिङ्जो गाउँका स्थानीयहरुको २१ दिनसम्मको श्रमदान र १ नम्बर वडाको १५ लाख लगानीमा बाबिल खर्कदेखि ४ हजार ६५० मिटर उचाइमा रहेको हर्ची पाससम्मको गोरेटो पदमार्ग बनेको हो ।
युवाहरुले घन, छिनो र गैंती प्रयोग गरी चट्टान फोड्ने काम गरे भने महिलाहरुले नाम्लोमा ढुङ्गा बोकेर सिढी बनाउन सहयोग गर्दै पदमार्ग निर्माण हुन सफल भएको हो । १ नम्बर वडाका वडाध्यक्ष पम्वर तामाङले ४ हजार मिटर उचाइमा रहेको छार चो खर्कमा बास बसेर कठिन भूभागमा काम गरेको अनुभव सुनाए । वडा कार्यालयले अब पर्यटक प्रतीक्षालय र पर्यटक लक्षित पूर्वाधारहरु निर्माण गर्ने योजना बनाएको अध्यक्ष तामाङले बताए ।


















