मकवानपुर । बागमती प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रहरुका लागि उद्धार, राहत, अस्थायी आवास तथा पुनर्निर्माणका कामलाई निरन्तरता दिने भएको छ ।
बाढीबाट भएको क्षति र आगामी रणनीतिबारे छलफल गर्न बागमती सरकारका मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवनका क्षेत्रमा तत्काल राहत तथा उद्धारलाई कुनै अवरोधबिना अघि बढाउने निर्णय गरेको हो ।
प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न, आवास तथा अन्य सामग्री तत्काल उपलब्ध गराउन सरकारलाई बैठकबाट सुझाव आएको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका प्रवक्ता भरत केसीले जानकारी दिए ।
बाढी र पहिरोका कारण अवरुद्ध सडक तथा पैदलमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन प्रदेश सरकारले काम गरिरहेको बैठकमा जानकारी गराइएको थियो । आवागमन सहज बनाउन आवश्यक स्थान पहिचान गरी बेलिब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको प्रक्रिया अघि बढाउने निर्णय पनि सर्वसम्मत गरिएको छ ।
बैठकले तत्कालीन राहतसँगै बाढी प्रभावित क्षेत्रको दिगो विकास र पुनर्निर्माणका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएको छ । क्षतिको थप अध्ययन गरी पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्ने विषयमा पनि छलफल भएको थियो ।
बैठकमा पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा तथा विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरू सहभागी थिए । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया ह्वाट्सएपमार्फत बैठकमा जोडिएका थिए ।
बैठकमा भौतिक पूर्वाधारमन्त्री केसी, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेकपाका प्रमुख सचेतक रत्न ढकाल र कांग्रेस प्रदेशसभा सदस्य रमेशकुमार महत सहभागी रहनुभएको मुख्यमन्त्री सचिवालयका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।












