मकवानपुर । मकवानपुरको मनहरी ४, गोलघर खेल मैदानमा आगामी १७ असोजबाट खुला फुटबल प्रतियोगिताको तयारी भएको छ ।
चैनपुर जेसीज मनहरीको आयोजनामा चौथो संस्करणको प्रतियोगिताको तयारी भएको जेसीजका अध्यक्ष सुरेश गौतमले जानकारी दिए ।
मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको विजेताले १ लाख एक हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गौतमले बताए ।
उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा अन्य विधागत उत्कृष्टलाई जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
हरेक खेलको म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता सन्चालनका लागि कार्यकारिणी उपाध्यक्ष नवराज रिजाललाई संयोजनको जिम्मेवारी प्रदान गरिएको छ ।
मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले फुटबल प्रतियोगिताका लागि जेसीजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतियोगिताको पहिलो संस्करण बागमती प्रदेश प्रहरी कार्यालयले जित्दा दोस्रो र तेस्रो संस्करणको उपाधी भने मकवानपुरगढी जेसीजले जितेको थियो ।
मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल युवाहरुको संस्था चैनपुर जेसीजले स्थापनाकालदेखी नै जेसीज कप खुला फुटबलको आयोजना गर्दै आएको संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए ।












