मकवानपुर । मकवानपुरका विभिन्न स्थानका स्थानीयवासीले बाढी प्रभावित क्षेत्रमा पुगेका आफ्ना ४० जना आफन्तको अवस्थाबारे जानकारी गराइदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरसँग आग्रह गरेका छन्।

बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएपछि गोसाइँकुण्डलगायतका स्थानमा पुगेका तथा विभिन्न पेसामा संलग्न मकवानपुरका व्यक्तिहरूसँग सम्पर्क हुन नसकेको भन्दै आफन्तहरूले प्रशासनको ध्यानाकर्षण गराएका हुन्।

जिल्ला प्रशासन कार्यालयमा स्थानीयवासीबाट त्यस्ता व्यक्तिहरूको अवस्थाबारे बुझिदिन अनुरोध आएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार मकवानपुरमा स्थायी बसोबास भएका केही व्यक्ति धार्मिक दर्शन तथा भ्रमणका लागि बाढी प्रभावित क्षेत्रमा पुगेका थिए। त्यस्तै, केही व्यक्ति उक्त क्षेत्रमा सवारीसाधन चलाउँदै आएका थिए भने अन्य विभिन्न पेसामा आबद्ध थिए।