मकवानपुर । पृथ्वी राजमार्गको धादिङ कृष्णभीरमा सडक भासिएर मुख्य मार्ग अवरुद्ध भएपछि हेटौँडा हुँदै उपत्यका आवतजावत गर्ने सवारीको चाप बढेको छ। यसैलाई व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले साना र ठूला यात्रुवाहक सवारीसाधनका लागि छुट्टाछुट्टै मार्ग तोकेको छ।

कार्यालयका अनुसार १४ सिटभन्दा कम क्षमता भएका साना सवारी काठमाडौँतर्फ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्नेछ भने काठमाडौँबाट हेटौँडा फर्किंदा फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी मार्ग हुँदै आउनुपर्ने व्यवस्था मिलाइएको छ।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीका लागि पनि नयाँ मार्ग तोकिएको छ। यसअन्तर्गत ठूला सवारी काठमाडौँतर्फ जाँदा त्रिभुवन राजपथ र काठमाडौँबाट फर्किंदा कान्ति लोकपथ प्रयोग गर्नुपर्ने प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार सवारीको चाप बढ्दा हुने चरम जाम र यात्रुले भोग्नुपरेको सास्तीलाई कम गर्ने उद्देश्यले यो वैकल्पिक व्यवस्था लागू गरिएको हो। कृष्णभीरको सडक मर्मत नभएसम्म यही व्यवस्था कायम रहने प्रशासनको भनाइ छ।