मकवानपुरगढीमा फेला परेको छेपारोको नयाँ प्रजाति । तस्बिर सौजन्यः सन्तोष भट्टराई

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ को कालिका सामुदायिक वन क्षेत्रमा संरक्षणकर्मीको टोलीले छेपारोको नयाँ प्रजाति फेला पारेको छ ।

माउसुली परिवारमा पर्ने ‘वेन्ट–टोड गेक्को’ जातिको यो छेपारो ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ नामले चिनिने संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए । मकवानपुरगढी ऐतिहासिक र महत्त्वपूर्ण क्षेत्र भएकाले यसैको नाममा नयाँ प्रजातिको नामकरण गरिएको हो ।

भट्टराईको नेतृत्वमा रहेको टोलीले गत जुन-जुलाई २०२४ मा यो प्रजाति फेला पारेको थियो । वैज्ञानिक परीक्षणपछि नयाँ प्रजाति पुष्टि भएसँगै हालै अन्तर्राष्ट्रिय जर्नल ‘जुकिज’ मा यसबारे विस्तृत विवरण प्रकाशित भएको हो । यो प्रजाति विश्वकै लागि नयाँ प्रमाणित भएको बताइएको छ ।
फेडेरेसन युनिभर्सिटी, अस्ट्रेलियामा छेपारोसम्बन्धी विद्यावारिधि गरिरहेका भट्टराईले मकवानपुरसँगै सिन्धुलीको हरिहरपुर चुरे शृङ्खलामा पनि अर्को नयाँ प्रजाति पत्ता लागेको जानकारी दिए । त्यहाँ भेटिएको प्रजातिको नाम ‘चुरे वेन्ट–टोड गेक्को’ राखिएको छ । भट्टराईकै समूहले गत वर्ष पनि वेन्ट–टोड गेक्को अन्तर्गत नेपालमा तीन नयाँ प्रजाति फेला पारी नामकरण गरेको थियो ।

गेक्कोनिडे परिवारअन्तर्गत संसारभर हालसम्म ३८० भन्दा बढी प्रजातिका छेपारा भेटिएका छन् भने नेपालमा हालसम्म पत्ता लागेका दुईसहित सात प्रजाति रहेका छन् । तीमध्ये पाँच प्रजाति भट्टराईकै नेतृत्वमा पत्ता लागेको तथ्यांक छ । उनका अनुसार साना जीवजन्तु पनि वातावरणीय सन्तुलनका लागि महत्त्वपूर्ण हुन्छन् । सर्प, भ्यागुता, छेपारोजस्ता जीवले किराफट्याङ्ग्रा खाएर प्रकृतिलाई सन्तुलनमा राख्ने भएकाले तिनको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

भट्टराईले चुरे क्षेत्रमा अत्यधिक ढुङ्गा–गिट्टी उत्खनन र नवजंगलमा लाग्ने आगलागीका कारण थुप्रै प्रजाति विलुप्त हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरे । उनले ठूला वन्यजन्तु मात्र नभई साना प्रजातिको समेत अभिलेखीकरण र संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
विगत १३ वर्षदेखि सर्प, भ्यागुता र छेपारोमा अध्ययन गरिरहेका भट्टराईले सरीसृप वर्गका छेपारोहरू चिसो ठाउँमा बस्न नसक्ने बताए । उनका अनुसार समुद्री सतहबाट करिब ३५० मिटरदेखि २,००० मिटर उचाइसम्म नेपालभर छेपारो पाइन्छ । उनी नेपाल–चीन सीमा ल्होमन्थाङ, मुस्ताङदेखि बर्दीबाससम्म क्षेत्रीय अध्ययन गर्दै आइरहेका छन् ।

मकवानपुरगढी सबडिभिजन वन कार्यालयका अधिकृत निश्चल घिमिरेले सामुदायिक वन स्थापना भएपछि वनस्पति संरक्षण र हरियालीमा वृद्धि भएको बताए । उनले जीवजन्तुको वासस्थान सुरक्षित राख्न समुदायको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय तह, वन कार्यालय र समुदायले सहकार्य गरेर वन र वन्यजन्तु जोगाउँदा साना–ठूला सबै प्रजातिका जनावरलाई उपयुक्त वासस्थान मिल्ने धारणा व्यक्त गरे ।