हेटौँडा । वातावरण र मानव अधिकार’ विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा आयोजित उक्त कार्यक्रममा वातावरण संरक्षण र मानव अधिकारको अन्तरसम्बन्धका बारेमा व्यापक छलफल गरिएको छ।

कार्यक्रममा जलवायु परिवर्तन र त्यसका असरहरू, वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापन, वातावरणलाई हरित बनाउने उपाय तथा योसँग सम्बन्धित नीति–नियम, कानुन र तिनको कार्यान्वयनका पक्षबारे छलफल गरिएको थियो। इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

प्रमुख अतिथि लामाले वातावरण संरक्षण गर्नु हरेक नागरिकको साझा दायित्व रहेको बताउनुभयो। त्यसैगरी, विशिष्ट अतिथि एवं प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले प्राकृतिक सौन्दर्यता घट्दै जानु वातावरण संरक्षणको क्षेत्रमा ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो। उहाँले मानव र वातावरण एकअर्काका परिपूरक भएकाले यस्ता विषयमा सबैले गम्भीरतापूर्वक चासो राख्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा इन्सेकका बरुण बश्याल र बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव अच्युत उपाध्यायले वातावरण संरक्षणको महत्त्वबारे धारणा राख्नुभएको थियो। उक्त अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्री, वन अधिकृत गोविन्द अर्याल लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।