मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको आयोजनामा यस वर्षको ५४ औँ विश्व वातावरण दिवस २०८३ सप्ताहव्यापी भव्य रूपमा मनाउने तयारी गरिएको छ ।

दिवसका सन्दर्भमा ‘प्रकृतिको प्रेरणा, जलवायुको संरक्षण, भविष्यको सुनिश्चितता’ भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म नगरका विभिन्न वडाहरूमा पर्यावरण सुधार र जनचेतनाका विविध अभियानहरू सञ्चालन गरिने भएको हो । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले समुदायस्तरबाटै गरिने साना प्रयासहरूले समग्र वातावरणीय सुधारमा ठूलो परिवर्तन ल्याउन सक्ने बताए । हेटौँडामा विक्रम संवत २०५६ सालदेखि नै टोल विकास संस्थाहरूको स्थापना भई स्थानीय स्तरमा विकास निर्माण, सरसफाइ, हरियाली प्रवद्र्धन र सामाजिक जागरणमा अग्रणी भूमिका खेल्दै आएको उनले जानकारी दिए । यस वर्ष पनि औपचारिकतामा मात्र सीमित नराखी यस दिवसलाई नगरबासीको जीवनशैलीको अभिन्न हिस्सा बनाइने उनले दृढता व्यक्त गरे ।

अध्यक्ष अधिकारीले भने, ‘विश्वव्यापी रूपमा जलवायु परिवर्तन, बढ्दो तापक्रम, अव्यवस्थित फोहोर व्यवस्थापन र प्लास्टिकजन्य प्रदूषण मानव सभ्यता र भविष्यका लागि गम्भीर चुनौतीका रूपमा देखा परिरहेका छन् । यस्तो अवस्थामा वातावरण स्वच्छ भए मात्र स्वस्थ समाज, सुरक्षित भविष्य र दिगो विकास सम्भव हुने भएकाले प्रत्येक नागरिकले आफ्नो घर, टोल र समुदायको संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्नु अपरिहार्य भइसकेको छ ।’

यस वर्षको वातावरण सप्ताह अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका ६ वटा वडाहरूमा विशेष रूपमा ‘बोत्तल देउ, बिरुवा लिउँ’ अभियान सञ्चालन गरिने भएको छ । यस सिर्जनशील अभियानमार्फत नगरबासीहरूले प्रयोग गरिसकेका वा फालिएका प्लास्टिकका बोत्तलहरू संकलन गरी तोकिएको केन्द्रमा बुझाएबापत फलफूलका बिरुवाहरू निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

अभियान अवधिभर कुल १,०८० वटा फलफूलका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ, जसले प्लास्टिकजन्य फोहोरको दीर्घकालीन न्यूनीकरण गर्नुका साथै नगरको हरियाली व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ ।

यसका साथै वातावरण संरक्षण र सरसफाइको क्षेत्रमा उदाहरणीय कार्य गर्ने संस्थाहरू र व्यक्तिहरूलाई प्रोत्साहन गर्न समितिले ‘वातावरण सम्मान २०८३’ को घोषणा गरिएको छ । सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा उत्कृष्ट योगदान पुर्‍याउने विद्यालय, मन्दिर, पार्क, सामुदायिक वन, वडा कार्यालय, टोल विकास संस्था, धार्मिक स्थल तथा विभिन्न क्षेत्रका सामाजिक अभियन्ता एवं व्यक्तित्वहरूलाई विशेष सम्मान तथा प्रशंसापत्र प्रदान गरिने आयोजकको तयारी छ ।