मकवानपुर । बिहानको चिया बनाउँदा हालिने अदुवा, दालमा प्रयोग हुने बेसार, भान्साको कुनामा राखिएको लसुन वा घरआँगनमै उम्रिएको तुलसी-यी सामग्रीलाई अधिकांशले सामान्य खाद्य पदार्थका रूपमा मात्र बुझ्छन् । तर यिनै वस्तुहरू स्वस्थ जीवनको आधार बन्न सक्छन् भन्ने सन्देशसहित हेटौँडामा आयोजित एक कार्यक्रमले सहभागीहरूलाई स्वास्थ्य र वातावरणबीचको गहिरो सम्बन्धबारे सोच्न बाध्य बनायो ।
विश्व वातावरण दिवस २०८३ को अवसरमा हेटौँडा उपमहानगरपालिका-४ मा आयोजित ‘भान्सा नै औषधालय’ सम्बन्धी सचेतनामूलक कार्यक्रममा चार सयभन्दा बढी सहभागीहरूले स्वस्थ जीवनशैली, प्राकृतिक खानपान र स्थानीय उत्पादनको महत्वबारे जानकारी प्राप्त गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको समन्वयमा भएको कार्यक्रमले वातावरण संरक्षणलाई केवल वृक्षारोपण वा सरसफाइसँग मात्र नभई नागरिकको दैनिक भोजन र स्वास्थ्यसँग पनि जोडेर हेर्नुपर्ने सन्देश दिएको छ ।
कार्यक्रममा ‘भान्सा नै औषधालय’ अभियानका प्रवद्र्धक तथा राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका नसर्ने रोगहरूबारे चर्चा गर्दै समाधानको बाटो आफ्नै भान्साबाट सुरु हुने बताए । उनले मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मोटोपनलगायतका समस्याहरू बढ्नुमा अस्वस्थ खानपान र प्रकृतिबाट टाढिँदै गएको जीवनशैली प्रमुख कारण रहेको उल्लेख गरे ।
‘हामी औषधि खोज्न अस्पताल पुग्छौँ, तर धेरै रोगबाट बच्ने आधार भने हाम्रो भान्सामै हुन्छ ।’ गिरीले भने, ‘बेसार, अदुवा, लसुन, तुलसी, मेथी जस्ता सामग्री केवल मसला होइनन्, यी शरीरलाई रोगसँग लड्न सहयोग गर्ने प्राकृतिक सम्पत्ति हुन् ।’
उनका अनुसार पछिल्लो समय प्रशोधित खाद्य पदार्थको अत्यधिक प्रयोग, शारीरिक श्रमको कमी र स्थानीय खानाको सट्टा आयातित तथा प्याकेटबन्द खाद्य सामग्रीप्रतिको बढ्दो आकर्षणले नागरिक स्वास्थ्यमा चुनौती थपेको छ । यस्ता समस्याको समाधानका लागि स्थानीय उत्पादनको प्रयोग, मौसमी फलफूल तथा सागसब्जीको सेवन र प्राकृतिक जीवनशैली अपनाउनुपर्ने आवश्यकता उनले औँल्याए ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए । उनका अनुसार स्वस्थ वातावरणबिना स्वस्थ नागरिकको परिकल्पना सम्भव छैन । ‘हरियाली, सरसफाइ र स्वस्थ खानपान एउटै सृङ्खलाका महत्वपूर्ण कडी हुन् ।’ उनले भने, ‘स्थानीय सरकारले नागरिकको जीवनस्तर सुधार गर्न पूर्वाधार विकाससँगै स्वास्थ्य र चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।’ यस्ता कार्यक्रमले समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन मद्घत पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष सिग्देलले सहभागीहरूलाई सिकेका विषयलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले स्वस्थ नागरिक निर्माण स्थानीय विकासको आधार भएकाले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष ध्रुवप्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममै सीमित राख्न नहुने धारणा व्यक्त गरे । उनका अनुसार वातावरण संरक्षणको वास्तविक अर्थ दैनिक व्यवहारमा परिवर्तन ल्याउनु हो । ‘स्वस्थ भान्सा, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणको आधार हो ।’ उनले भने, ‘हामीले वातावरण जोगाउने कुरा गर्दा खानेकुरा,जीवनशैली र स्वास्थ्यलाई पनि सँगसँगै हेर्नुपर्छ ।’ अधिकारीले टोल विकास संस्थाहरू समुदायस्तरमा सचेतना फैलाउने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवद्र्धन तथा स्वस्थ जीवनशैली निर्माणमा यिनको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका-४ सहित नगरका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, महिला समूहका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो । सहभागीहरूले कार्यक्रममा प्रस्तुत गरिएका विषयवस्तुले आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा दिएको प्रतिक्रिया दिए ।
कार्यक्रममा सहभागी धेरैले घरमै उपलब्ध हुने सामग्रीको औषधीय महत्वबारे विस्तृत जानकारी प्राप्त गरेको बताए । कतिपयले स्थानीय उत्पादनको उपयोग बढाउने तथा परिवारमा स्वस्थ खानपानको संस्कार विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
पछिल्ला वर्षहरूमा विश्वभर नसर्ने रोगको जोखिम बढ्दै गएको सन्दर्भमा नेपालमा पनि स्वस्थ जीवनशैलीसम्बन्धी बहस तीव्र बन्दै गएको छ । चिकित्सक तथा स्वास्थ्य विज्ञहरूले नियमित व्यायाम, सन्तुलित आहार र प्राकृतिक जीवनशैलीलाई रोग नियन्त्रणको महत्वपूर्ण उपायका रूपमा औँल्याउँदै आएका छन् । यस्तै अवस्थामा हेटौँडामा आयोजित ‘भान्सा नै औषधालय’ कार्यक्रमले स्वास्थ्यलाई औषधिमा मात्र होइन, खानपान र जीवनशैलीसँग जोडेर हेर्ने दृष्टिकोणलाई थप बल दिएको देखिन्छ ।


















