मकवानपुर । हेटौँडाको बुद्धचोकमा सामान्य दिनजस्तै देखिन्थ्योसवारीको चहलपहल, पसलको भीड र सडक किनारमा हिँडिरहेका मानिसहरू। तर यही चोक केही क्षणमै यस्तो खुला मञ्च बन्यो, जहाँ मनोरञ्जन होइन, समाजको कठोर यथार्थले दर्शकलाई रोकियो, झक्झक्यायो र भावुक बनायो।

सडक किनारमा उभिएका केही युवायुवतीहरू, मौन तयारीपछि जब अभिनयमा उत्रिए, तब हेटौँडाको को बुद्धचोक एउटा प्रतीकात्मक अदालतजस्तो बन्यो-जहाँ मुद्दा थियो मानव बेचबिखन र शोषणको बदलिँदो स्वरूप।
‘फ्री अ गर्ल नेदरल्याण्ड’को सहयोगमा शक्ति समूहले सञ्चालन गरिरहेको ‘स्कुल फर जस्टिस’ परियोजना अन्तर्गत आयोजित यो सडक नाटक केवल प्रस्तुति थिएन, यो चेतनाको अभ्यास थियो । मकवानपुर जिल्लालाई मानव बेचबिखनको उच्च जोखिमयुक्त क्षेत्रमध्ये मानिने भएकाले कार्यक्रमलाई विशेषगरी समुदाय र विद्यालय केन्द्रित बनाइएको आयोजकले जनाएको छ ।

नाटकको कथावस्तु गाउँदेखि शहरसम्म फैलिएको थियो । नाटकमा रोजगारीको सपना, आकर्षक भविष्यको प्रलोभन र विश्वासको जालले मानिसहरूलाई कसरी फसाइन्छ भन्ने दृश्यहरू जीवन्त रूपमा प्रस्तुत गरियो। सामाजिक सञ्जालमार्फत हुने नयाँ किसिमका ठगी, वैदेशिक रोजगारीका नाममा हुने शोषण र पीडितहरूले भोग्ने मानसिक तथा शारीरिक यातना नाटकका मुख्य विषय बने।

एक दृश्यमा, विदेश जाने सपना बोकेको युवक एजेन्टको मिठा कुरा सुनेर पासोमा पर्छ। अर्को दृश्यमा, सामाजिक सञ्जालमार्फत विश्वास जितेर बनाइएको सम्बन्ध कसरी शोषणमा परिणत हुन्छ भन्ने देखाइयो। दर्शकहरू मौन थिए, कतिपयका आँखा रसाएका थिए।

कार्यक्रमको पहिलो दिन बुद्धचोकमै करिब ६ सय दर्शक सहभागी भए। दोस्रो दिन मकवानपुरगढी ५, स्थित शारदा माविमा आयोजित कार्यक्रममा ७५० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाहरू उपस्थित थिए।

नाटकपछि दर्शकहरूको प्रतिक्रिया नै यसको प्रभावको सबैभन्दा ठूलो प्रमाण बन्यो।
‘हामीले यस्ता घटना समाचारमा मात्र सुन्थ्यौँ ।’ एक सहभागी महिला शिक्षकले भनिन्, ‘तर आज मञ्चमा देख्दा त्यो पीडा धेरै नजिक लाग्यो। केही क्षणका लागि म आफैँ त्यो कथाभित्र छु जस्तो महसुस भयो।’ उनका अनुसार यस्ता कार्यक्रम विद्यालय र समुदायमा निरन्तर हुन आवश्यक छ।

विद्यालयका सहायक प्रधानाध्यापक इन्द्र बहादुर कार्कीले नाटकलाई शैक्षिक दृष्टिले अत्यन्त उपयोगी भएको बताए। ‘पाठ्यपुस्तकमा पढेको कुरा विद्यार्थीले मञ्चमा देख्दा अझ गहिरो बुझाइ हुन्छ ।’ उनले भने, ‘यसले जीवनसँग जोडिएको शिक्षा दिन्छ।’

शक्ति समूहकी परियोजना अधिकृत शारदा भट्टराईका अनुसार संस्था विगत २९ वर्षदेखि मानव बेचबिखन र बाल संरक्षणका क्षेत्रमा सक्रिय छ। उनले भनिन्, ‘मानव बेचबिखनको स्वरूप समयसँगै बदलिएको छ। पहिले सीमित रूप थियो, अहिले सामाजिक सञ्जालदेखि वैदेशिक रोजगारीसम्म फैलिएको छ। त्यसैले सचेतना पनि त्यहीअनुसार समुदायमै पुगेर दिनुपर्छ।’

कार्यक्रमका क्रममा मानव बेचबिखनका नयाँ जोखिम, रोकथामका उपाय र सुरक्षित निर्णय लिने तरिकाबारे जानकारीमूलक सामग्री पनि वितरण गरिएको थियो। विशेषगरी किशोरकिशोरीलाई लक्षित गरिएको यो सामग्रीले सम्भावित जोखिम पहिचान गर्न सहयोग पुग्ने विश्वास आयोजकहरूको छ।

नेपालमा मानव बेचबिखन अझै पनि गम्भीर सामाजिक समस्या हो। वैदेशिक रोजगारी, शिक्षा, विवाह वा आर्थिक अवसरको नाममा हुने शोषणका घटनाहरू विभिन्न स्वरूपमा देखा परिरहेका छन्। यस्तो अवस्थामा केवल कानुनी उपाय मात्र होइन, समुदायस्तरमै सचेतना विस्तार गर्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।