मकवानपुर । विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मकवानपुरको हेटौँडा–८ मा आयोजित ‘फोहोर खोज चुनौती कार्यक्रम’ अन्तर्गत २ हजार २ सय किलोग्राम अजैविक फोहोर संकलन गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोग, टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–८ को व्यवस्थापनमा यो कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौँडा–८ भित्रका १९ वटा टोल विकास संस्थाका ३८ समूह सहभागी भएका थिए । सहभागी समूहहरूले आफ्नो क्षेत्रका सडक,सार्वजनिक स्थल तथा बस्ती आसपासबाट प्लास्टिक, बोतल, प्याकेटलगायतका अजैविक फोहोर संकलन गरी व्यवस्थापनका लागि जम्मा गरेका हुन् । आयोजकका अनुसार कार्यक्रमले समुदायस्तरमा सरसफाइ र वातावरण संरक्षणप्रति नागरिकको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा वडा नं. ८ का वडा सदस्य गोरख राय, नगर समन्वय समितिका सचिव तथा कार्यक्रम संयोजक शुशिला मल्ल, वडा समन्वय समितिका अध्यक्ष कुमार केसीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले वातावरणीय चुनौतीसँग जुध्न सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने बताए । उनले समुदायको प्रत्यक्ष सहभागितामा सञ्चालन हुने अभियानहरूले नागरिकमा जिम्मेवारीबोध बढाउने र स्वच्छ समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । वातावरण संरक्षणलाई व्यवहारमै कार्यान्वयन गर्न स्थानीय तह, सामाजिक संस्था र नागरिकबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
कार्यक्रमका सभाध्यक्ष अधिकारीले बढ्दो प्लास्टिकजन्य फोहोर वातावरणका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको उचित व्यवस्थापन आजको प्रमुख आवश्यकता भएको बताए । उनले ‘स्वच्छ, हरियाली र प्लास्टिकमुक्त हेटौँडा’ निर्माणका लागि टोलस्तरबाट सुरु भएका यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
प्रतियोगितात्मक रूपमा सञ्चालन गरिएको कार्यक्रममा कालिका टोल विकास संस्था प्रथम भएको छ । त्यसैगरी विकास टोल (समूह ‘क’) द्वितीय तथा मनकामना टोल (समूह ‘ग’) तृतीय स्थान हासिल गर्न सफल भएका छन्। कालिका टोल (समूह ‘ख’), मनकामना टोल (समूह ‘ख’), बिन्दबासिनी टोल (समूह ‘क’) र सृजना टोलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
आयोजकका अनुसार प्रथम हुने समूहलाई १० हजार रुपैयाँ, द्वितीयलाई ७ हजार ५ सय रुपैयाँ, तृतीयलाई ५ हजार रुपैयाँ तथा सान्त्वना प्राप्त प्रत्येक समूहलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कार विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गते आयोजना हुने विशेष समारोहमा वितरण गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागी टोल विकास संस्था, स्वयंसेवक तथा स्थानीयवासीहरूले सरसफाइ, फोहोर व्यवस्थापन र वातावरण संरक्षणसम्बन्धी अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।