मकवानपुर । शनिबार बिहान हेटौँडाका सडकहरूमा सामान्य दिनझैँ सवारीसाधनको भीड मात्र थिएन, हातमा कुचो, डस्टबिन, झोला र सरसफाइका सामग्री बोकेका सयौँ नागरिक, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू सडकमा उत्रिएका थिए । उनीहरू ‘शून्य फोहोर हेटौंडा’ अभियानलाई व्यवहारमै उतार्नका लागि उपस्थित थिए ।
हेटौँडा उपमहानगरपालिकाले घोषणा गरेको ‘पर्यटन वर्ष २०८३’ लाई सफल बनाउने तयारीस्वरूप सुरु गरिएको यो अभियानले सरसफाइका साथै नागरिकको सोच, बानी र जिम्मेवारी परिवर्तन गर्ने अपेक्षा राखिएको छ । अभियानको संयोजन हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिले गरेको हो ।
अभियानको पहिलो दिन वडा नम्बर ९ र ११ का सडक, सार्वजनिक स्थल, नाली र खुला क्षेत्रको सरसफाइ गरियो । सरसफाइका अलावा स्थानीयलाई फोहोर व्यवस्थापन र वातावरण संरक्षणबारे सचेत गराउने काम पनि भयो । कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न सामाजिक संघसंस्था, टोल विकास संस्था तथा उपमहानगरपालिकाका कर्मचारीहरू सहभागी थिए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कुनै पनि सहरको पहिचान त्यसको स्वच्छता र व्यवस्थापनबाट हुने उल्लेख गर्दै हेटौँडालाई सफा र आकर्षक बनाउन सबै पक्षको साझा जिम्मेवारी रहेकोमा जोड दिए । सरसफाइलाई एकदिने औपचारिक कार्यक्रममा सीमित गरिए अपेक्षित उपलब्धि हासिल नसक्ने भन्दै उनले यसलाई नागरिकको दैनिक जीवनशैलीसँग जोड्नुपर्ने बताए । ‘जबसम्म घरबाट निस्कने प्रत्येक नागरिकले सडकलाई आफ्नै आँगन ठान्दैन, तबसम्म शून्य फोहोरको लक्ष्य पूरा हुन सक्दैन ।’ उनले भने । अधिकारीले स्थानीय सरकार, सुरक्षा निकाय, नागरिक समाज र आम सर्वसाधारणबीचको सहकार्यले मात्र अभियानलाई प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरे ।
हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले पर्यटन वर्ष २०८३ लाई सफल बनाउने आधारमध्ये स्वच्छता सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताइन् ।
उनले भनिन्, ‘हामी पर्यटकलाई हेटौंडामा स्वागत गर्न चाहन्छौँ भने सबैभन्दा पहिले उनीहरूले देख्ने वातावरण सफा, व्यवस्थित र आकर्षक हुनुपर्छ । पर्यटन केवल प्राकृतिक सौन्दर्यले मात्र होइन, सहरको सरसफाइ, अनुशासन र नागरिक संस्कृतिले पनि प्रवद्र्धन हुन्छ ।’ उपमहानगरपालिकाले पूर्वाधार विकाससँगै वातावरण संरक्षणलाई पनि समान प्राथमिकतामा राखेको उनले बताईन् । नागरिकको सक्रिय सहभागिता बिना कुनै पनि अभियान सफल नहुने उल्लेख गर्दै उनले ‘शून्य फोहोर हेटौँडा’ अभियानलाई साझा नागरिक आन्दोलनका रूपमा अघि बढाउन आग्रह गरिन् ।
वडा नम्बर ३ का अध्यक्ष ढलकबहादुर थापा, वडा नम्बर ९ का अध्यक्ष सुकराम केसी र वडा नम्बर ११ की अध्यक्ष जुना दाहालसहित अन्य जनप्रतिनिधिले पनि अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली तथा विभिन्न शाखाका कर्मचारीहरू पनि अभियानमा प्रत्यक्ष सहभागी भएका थिए ।




















