मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आव्हान गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आव्हान गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले यही भदौ ४ गते बिहीबार अपरान्ह ४.०० बजेभित्र दाबी पेस गर्न आव्हान गरेका हुन् ।
प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए ।
गत ६ साउनमा नेकपा (एमाले)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो । नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाँले सोमबारको प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।
प्रदेश प्रमुख देवकोटाको आव्हान अनुसार अब बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले दलहरूको समर्थनसहित मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्नुपर्नेछ ।















