मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ६, जुरिखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते लक्ष्मी बडुको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका छन्। मुख्य न्यायाधीश डाँगी र जिप चालक छुनिलाल चौधरीको हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गम्भीर अवस्थाका चार जनालाई सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित छाउनी ल्याइएको थियो। तीमध्ये लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप मंगलबार बिहान करिब ७ बजे जुरिखेतमा अनियन्त्रित भएर सडकबाट खोल्सामा खसेको थियो।

दुर्घटनामा घाइते अन्यको उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।