मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले साहित्यकार तुलसी थापाको स्मृतिमा आयोजना गर्न लागेको राष्ट्रिय कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविता छानिएको छ ।

देशभरबाट प्राप्त ४१२ वटा कवितामध्ये मूल्याङ्कन समितिले उत्कृष्ट १० वटा कविता छानेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाले साउन १२ गते सूचना प्रकाशित गरी प्रतियोगितामा सहभागी हुन आव्हान गरेको थियो । प्राप्त कवितालाई विषयवस्तु, भाषा, सिर्जनात्मकता र सन्देशलगायतका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट कविताहरु छनोट गरिएको उनको भनाई छ ।

छनोट भएका कविहरूलाई यही ७ भदौमा आयोजित कार्यक्रममा उपस्थित भई कविता वाचन गर्नका लागि गाउँपालिकाले आग्रह गरेको छ ।
छनोट हुनेमा धीरज नाथको ‘बगैँचा’, सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’, योगराज पौडेलको ‘मातृगाथा’, उमेश पुनको ‘यसरी पनि देशले आत्महत्या गर्न सक्छ’, चेतना शर्माको ‘रातो क्यानभास’ रहेका छन् ।

यस्तै, एम.डी. फिराकको ‘सालिक’, प्रदीप वालाचनको ‘शब्दमा तिमी’, त्रिलोचन सुवेदीको ‘बनमाराको नागरिकता’, तारानाथ पराजुलीको ‘नेपाल यो के भयो ?’ र हेम प्रकाश मण्जिलको ‘छुटेपछि देश’ रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष हिदम लामाले साहित्यिक सिर्जनामार्फत समाजका विविध पक्षलाई उजागर गर्ने तथा स्थानीय स्तरमा साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्धेश्यले राष्ट्रिय कविता प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।