मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ तिनतलेमा स्थानीय युवाले स्वदेशमै रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ‘बौद्ध बेम्बो कटेज’ सञ्चालनमा ल्याएका छन्।

स्थानीय युवा जितन चौलागाईं र पासाङ तामाङको करिब ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको कटेजको शुक्रबार बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले उद्घाटन गरेका हुन्। व्यवसायमार्फत करिब १ सय जनालाई स्वदेशमै रोजगारी दिने लक्ष्य राखिएको व्यवसायीले बताएका छन्।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खत्रीले युवाले देशको नीति, नियम र कानुनी परिधिभित्र रहेर व्यवसाय सुरु गरेकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए।

‘बकैया गाउँपालिकाका युवामा उद्यम गर्ने दक्षता र क्षमता विकास भएकोमा निकै हर्षित छु,’ उपाध्यक्ष खत्रीले भने, ‘यस व्यवसायले स्थानीयको आयआर्जन र जीविकोपार्जनमा ठूलो राहत पुग्ने विश्वास लिएको छु।’

हाल कटेज सञ्चालनमा ल्याइए पनि केही समयपछि ग्राहकको बसोबासका लागि होटल तथा आवासीय सेवा समेत सञ्चालनमा ल्याउने व्यवसायी जितन चौलागाईंले जानकारी दिए।