मकवानपुर । बागमती प्रदेश सरकार मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
४ भदौमा नियुक्त मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि दिउशो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मत लिन लागेका हुन् ।
नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापालाई विश्वासको मत दिनका लागि सत्ता साझेदार एमाले र नेकपाले ह्वीप जारी गरिसकेका छन् । नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा बैठकमा उपस्थित भई थापालाईविश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिइएको जानकारी दिए ।

सरकार बनाउँन निर्णायक बनेको राप्रपामा भने विश्वासको मतका विषयमा आन्तरिक विवाद देखिएको छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन् भने संसदीय दलका नेता उद्घव थापा आफ्नो पार्टीको सर्मथनमा बनेको सरकारलाई विश्वासको मत दिने बताउँछन् । सरकारमा राप्रपाबाट समेत तीन जना मन्त्री बनेका छन् ।

सरकारमा सहभागिताको विषयमा केन्द्रको निर्देशन अटेर गरेको भन्दै राप्रपा केन्द्रले संसदीय दलका नेता थापालाई कारवाही गरेको छ भने मन्त्री बनेकाहरुलाई पार्टी केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।

मुख्यमन्त्री थापासँग आफ्नै पार्टी एमालेको २५ र नेपाली कम्युनिष्ट पार्टीको २६ मत सुरक्षित छ । १२ मत रहेको राप्रपाबाट उनलाई कति मत पर्ला भन्नेमा एकीन गर्न सक्ने अवस्था छैन ।
मुख्यमन्त्री नियुक्ती हुँदा थापालाई गर्ने ६३ जना सदस्यको समर्थनको हस्ताक्षर बुझाइएको थियो ।