मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले साहित्यकार तुल्सी थापाको स्मृतिमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा जुम्लाको गुठचौर ४ का कवि हेम प्रकाश मञ्जिल प्रथम भएका छन् ।
उनले लेखेको कविता ‘छुटेपछि देश’ प्रथम हुन सफल भएको हो ।

आइतबार मकवानपुरको भीमफेदी १, भैँसेमा आयोजित कविता प्रतियोगितामा प्रथम हुँदै कवि मञ्जिलले नगद ५० हजार रुपैँया प्राप्त गरे । यस्तै, प्रतियोगितामा लालबन्दी ४ सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ कविता द्घितीय भई नगद ३० हजार रुपैयाँ, अर्जुन धारा ५, झापाका योगराज पौडेलको ‘मातृगाथा’ कविता तृतीय भई नगद बीस हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा काठमाडौका चेतना शर्माको रातो ‘क्यानभास’ कविता र भीमदत्त नगरपालिका १८, कञ्चनपुरका धीरज नाथको ‘बगैँचा’ कवितालाई प्रोत्साहन स्वरुप दश–दश हजार रुपैयाँ प्रदान गरिएको छ ।

विजयीहरुलाई गाउँपालिकाका अध्यक्ष हिदम लामाले नगद पुरस्कार प्रदान गर्दै नेपाली साहित्यको उत्थानमा साहित्यकार थापाको योगदानको स्मरणसहित राष्ट्रिय स्तरको कविता प्रतियोगिता आयोजना गरिएको बताए । देशका सातै प्रदेशबाट प्राप्त ४९२ वटा कवितामध्येबाट छानिएका उत्कृष्ट १० कविता वाचन गराउँदै पुरस्कार प्रदान गरिएको उनले जानकारी दिए । आगामी दिनमा पनि साहित्य विकास र श्रष्टाको सम्मानका लागि यस खालका कार्यक्रमलाई पालिकाले निरन्तरता दिने अध्यक्ष लामाको भनाई छ ।

गाउँपालिकाले गत साउन १२ गते सूचना प्रकाशित गरी प्रतियोगितामा सहभागी हुन आव्हान गरेको थियो । प्रतियोगितामा विषयवस्तु, भाषा, सिर्जनात्मकता र सन्देशलगायतका आधारमा कवितालाई मूल्याङ्कन गरिएको निर्णायक समितिका संयोजक साहित्यकार डा. निमेष निखिलले जानकारी दिए ।

गाउँपालिकाको आयोजना एवम् बुढ्यौली साहित्य समाज नेपाल,मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगितामा कवि श्रवण मुकारुङ्, संगीतकार आभाष लगायतको उपस्थिती थियो ।