मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत र स्वास्थ्य उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बुधबार बसेको बैठकमा मुख्यमन्त्री थापामगरले विपद्मा परेका नागरिकको उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम तत्काल सुरु गर्न उनको आग्रह छ । घाइते तथा विपद्मा परेकालाई तत्काल उद्धार गरी राहत वितरण गर्न पनि उनले निर्देशन दिए ।
प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि उनले निर्देशन दिएका छन् । त्यसका लागि आवश्यक उद्धार तथा स्वास्थ्य उपचार टोली परिचालन गर्न भनिएको छ ।

बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकका लागि खाना र आवासको व्यवस्था मिलाउन मुख्यमन्त्री थापामगरले निर्देशन दिए । प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको तत्काल व्यवस्थापन गर्न पनि उनले सम्बन्धित निकायलाई आग्रह गरे ।
रसुवामा बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरी उद्धार, राहत तथा पुनःस्थापनाका काम अघि बढाउने तयारी गरेको छ ।

मुख्यमन्त्री थापामगरले विपद्को समयमा सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । प्रभावित नागरिकले राज्यको उपस्थिति प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी काम गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे ।

उद्धार तथा राहतमा कुनै ढिलाइ हुन नदिन सम्बन्धित मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गर्न पनि उनले निर्देशन दिए ।
बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, अस्थायी आवास तथा अन्य राहत सामग्री व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको थियो ।

बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, मन्त्रालयका सचिव तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिको उपस्थिती थियो ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, मन्त्री ज्ञानबहादुर तामाङ, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु बिष्ट थिए ।

पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ पनि बैठकमा सहभागी थिए । प्रदेशसभा सदस्य रमेश महत र इन्द्रप्रसाद गोतामे तथा पूर्व उपसभामुख राधिका तामाङको पनि बैठकमा उपस्थिति रहेको थियो ।