मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मोहम्मद जयन्तीले नेपाली समाजमा सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकताको भावना अझ बलियो बनाउन प्रेरणा दिने बताएका छन् ।
मुख्यमन्त्री थापा मगरले बुधबार मनाइँदै गरिएको मोहम्मद जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै विविधताबीचको एकता नेपालको मौलिक पहिचान भएकाले आपसी सहिष्णुता र सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका हुन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण देश रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘अनेकतामा एकता, सहिष्णुता र आपसी भाइचारा नै हाम्रो मौलिक राष्ट्रिय पहिचान हो ।’ हजरत मोहम्मदले समाजमा शान्ति, आत्मीयता, दया, सामाजिक न्याय र भाइचारा कायम गर्न दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको मुख्यमन्त्री थापामगरको भनाइ छ । ‘हजरत मोहम्मदले समाजमा शान्ति, आत्मीयता, दया, सामाजिक न्याय र भाइचारा कायम गर्न दिनुभएको अमर सन्देश आजको सन्दर्भमा झनै सान्दर्भिक रहेको छ ।’ मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
मोहम्मद जयन्तीलगायत अवसरमा मुस्लिम समुदायले गर्दै आएको ‘सदका’ अर्थात् दान तथा परोपकारको परम्परालाई अनुकरणीय भएको मुख्यमन्त्री थापाको भनाई छ । असहाय, विपन्न र गरिब वर्गलाई खाद्यान्न, कपडा तथा आर्थिक सहयोग उपलब्ध गराउने कार्यले धार्मिक दायित्वसँगै सामाजिक सुरक्षामा समेत योगदान पुर्याउने उनले उल्लेख गरेका छन् ।
आफ्नो सन्देशमा उनले विभिन्न धर्म, संस्कृति र समुदायबीच सद्भाव, समझदारी र एकताको भावना प्रगाढ बनाउन पर्वहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै बागमती प्रदेश सरकार सबै धर्म, भाषा, संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा विकासका लागि प्रतिबद्ध रहेकोमा जोड दिएका छन् ।












