मकवानपुर । भोटेकोशीमा एक्कासि आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति र डुबान भएको घटनाप्रति बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले दुःख व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले बुधबार अपिल जारी गर्दै विपद्को यस दुःखद् घडीमा बाढीको जोखिमबाट सुरक्षित रहन आवश्यक सम्पूर्ण सावधानी तथा सुरक्षाका उपाय अपनाउन प्रदेशवासीलाई आग्रह गरेका छन् ।
उनले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्य प्रभावकारी रूपमा अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारसहित सम्बन्धित सबै निकायलाई तत्काल परिचालित हुन अपिल गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले तल्लो तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । बाढीको जोखिम पूर्ण रूपमा नहटेसम्म सुरक्षित तथा उच्च स्थानमा स्थानान्तरण भई सुरक्षित रहन सम्बन्धित क्षेत्रका नागरिकलाई उनको अनुरोध छ ।
भोटेकोशीमा आएको आकस्मिक बाढीले नदी आसपासका क्षेत्रमा जनधनको क्षति र डुबान निम्त्याएको भन्दै उनले घटनाले आफूलाई स्तब्ध र दुःखी बनाएको उल्लेख गरेका छन् ।
विपद्को समयमा सरकारका सबै तह तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउनसमेत उनको आग्रह छ ।












