मकवानपुर । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङमा पत्रकार तथा सञ्चारमाध्यमसमेत प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संकलन गरेको प्रारम्भिक विवरण अनुसार कम्तीमा १० जना पत्रकार तथा सञ्चारकर्मी र विभिन्न सञ्चारमाध्यम बाढीबाट प्रभावित भएको पाइएको छ ।

केही पत्रकार सम्पर्कविहीन छन् भने केहीको घरमा क्षति पुगेको र कतिपय सञ्चारमाध्यमको विद्युत्, इन्टरनेट तथा सञ्चार उपकरणमा क्षति पुगेको छ ।
भोटेकोशी बाढीबाट भएको अपूरणीय जनधनको क्षतिप्रति महासंघले दुःख व्यक्त गर्दै बाढीमा फसेकाहरूको उद्धार, बेपत्ताको खोजी तथा घाइतेको उपचारका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघले राहत तथा उद्धार कार्यमा सक्रियतापूर्वक जुट्न सबै सरोकारवाला र सहयोगीलाई आग्रह गरेको छ ।

बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको अवस्थाबारे अध्ययन गरी सार्वजनिक गर्ने निर्णय अनुसार महासंघको बागमती प्रदेश समितिले सम्बन्धित जिल्ला शाखासँग समन्वय गरी प्रारम्भिक विवरण संकलन गरेको अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए । उनका अनुसार नुवाकोटमा सबैभन्दा बढी पत्रकार तथा सञ्चारमाध्यम प्रभावित भएका छन् ।

नुवाकोटका पत्रकार निराजन पौडेल रसुवाबाट रातोपाटीमा आबद्ध छन् । बाढीका कारण उनका बुबा, आमा, काका, काकी र बहिनी गरी परिवारका पाँच सदस्य सम्पर्कबाहिर रहेको महासंघले सार्वजनिक गरेको विवरणमा छ । राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपाली पनि बेपत्ता छन् । उनी बेत्रावती बजारबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको महासंघले जनाएको छ ।

त्यस्तै, ‘सुन्दरादेवी सन्देश’ साप्ताहिकमा आबद्ध किरण अधिकारीको विदुर नगरपालिका-२, ढुंगेबजारस्थित घरमा क्षति पुगेको छ । उनी हाल अन्यत्र बसोबास गरिरहेका छन् । नुवाकोटकै ‘नयाँ पत्रिका दैनिक’मा आबद्ध टेकराज थामी समाचार संकलनका लागि हिडेको अवस्थामा सम्पर्कविहीन भएको जानकारी परिवारबाट प्राप्त भएको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष तथा सल्लाहकार शिव देवकोटा पनि बाढीको प्रभावमा परेका छन् । उनी सवार ६५३८ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल दोभानबाट बाढीले बगाएको विवरणमा उल्लेख छ ।
नुवाकोटकै रेडियो नुवाकोटको विद्युत्, फाइबर र ब्याकअपमा क्षति पुगेपछि सञ्चालनमा नरहेको महासंघले जनाएको छ । रेडियो सिद्धेश्वर, गज्जबको रेडियो भने आंशिक सञ्चालनमा रहेको छ । रेडियो भैरवी, मिक्स एफएममा विद्युत् अवरुद्ध भई सेवा बन्द भएको छ ।
रसुवा एफएम विद्युत् अवरुद्ध भएपछि सञ्चालनमा छैन । धादिङका रेडियो राजमार्गमा आबद्ध विपिन मल्ल ठकुरीको बेनीघाट बजारस्थित घरमा क्षति पुगेपछि उनी अन्यत्र बसोबास गरिरहेका छन् ।

महासंघका अनुसार बाढी प्रभावित क्षेत्रमा पत्रकार तथा सञ्चारमाध्यमले प्रत्यक्ष रूपमा विभिन्न कठिनाइ व्यहोर्नुपरेको छ । कतिपय स्थानमा आवतजावत अवरुद्ध हुनुका साथै मानसिक तनाव, सञ्चार तथा विद्युत् सेवामा समस्या देखिएको छ । यसको प्रत्यक्ष असर समाचार संकलन, सम्प्रेषण र नियमित सञ्चार सेवा सञ्चालनमा समेत परेको छ ।

विपद्को जोखिमबीच पनि पत्रकारहरूले नागरिकलाई सही सूचना उपलब्ध गराउने जिम्मेवारी निर्वाह गरिरहेका छन् । महासंघले प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षा सुनिश्चित गर्न, विद्युत् तथा इन्टरनेट सेवा निरन्तर सञ्चालन गर्न तथा सञ्चार उपकरणमा पहुँच र आवश्यक राहत, उद्धार एवं सहयोगको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

महासंघले सम्पर्कविहीन पत्रकार तथा उनीहरूका परिवारको तत्काल खोजी र उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । साथै, बाढीका कारण पत्रकार तथा सञ्चारमाध्यममा परेको समस्याबारे यथाशीघ्र जिल्ला शाखामार्फत वा सिधै प्रदेश समितिलाई जानकारी गराउनसमेत आग्रह गरेको छ ।